काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले बलात्कारका घटनामा मेलमिलाप गराउने, पञ्चायती बस्ने कार्यमा संलग्नहरुलाई पनि मतियारको रुपमा पक्राउ गरी कारवाही गर्न मातहतका निकायलाई आफूले निर्देशन दिइसकेको बताएका छन्।
बलात्कारका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आज गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएको अखिल नेपाल महिला संघ (अनेमसंघ)का प्रतिनिधिमण्डल र बझाङ जिल्लाका जनप्रतिनिधिमण्डलसँगको संयुक्त भेटमा गृहमन्त्री थापाले बलत्कारजस्तो जघन्य अपराधमा मिलापत्र गराउनु ठूलो अपराध भएको बताए।
मिलापत्र गराउनेहरुलाई कारवाहीको सुनिश्चितता विद्यमान कानुनले गरेको बताउँदै आवश्यक परे थप कडा कारवाहीको प्रावधान राख्न कानुन संशोधन गरिने उनले प्रष्ट पारे।
बलात्कारका घटना समाजका लागि लज्जाको विषय भएको भन्दै उनले यस्ता घटना रोक्न सरकार संवेदनशिल र गम्भिर रहेको बताए।
कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पछिल्ला दिनमा भएका बलात्कारका घटनामा संलग्न अधिकांश आरोपीहरु प्रहरीले पकाउ गरिसकेको जानकारी दिँदै मिलाउपत्र गराउने कार्यमा संलग्नसमेतलाई कारवाही अघि बढाइएको बताए।
ज्ञापनपत्र बुझाउँदै अनेमसंघका संयोजक अमृता थापाले पछिल्ला दिनहरुमा महिला हिंसा र बलात्कारका घटना बढेको भन्दै त्यस्ता घटनामा संलग्नलाई कारवाही, पीडितलाई उपचार, सुरक्षा र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरिन्।