काठमाडौं– मन्त्रिपरिषद् पुनर्गठनका विषयमा निरन्तर छलफल गरिरहेका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको आजको छलफल पनि निष्कर्षविहीन भएको छ।
करिब पौने ३ घन्टासम्म भएको आजको छलफलमा पनि दुई अध्यक्षबीच कुनै ठोस सहमति नभएको स्रोतले जानकारी दिएको छ।
‘उहाँहरुबीच केही दिनदेखि मन्त्रिपरिषद् पुनर्गठनका बारेमा छलफल चलिरहेको छ,’ स्रोतले भन्यो, ‘आज पनि त्यसै विषयमा लामो छलफल भएको छ। तर, सहमति जुट्न भने सकेन।’
मन्त्रिपरिषद् पुनर्गठन कुन विधि, प्रक्रियाबाट गर्ने, मापदण्ड के बनाउने भन्ने विषयमा अध्यक्षद्वयबीच सहमति जुट्न सकिरहेको छैन।
सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् पुनर्गठन पनि अन्योलमा परेको छ। नेताहरुले छिट्टै पुनर्गठन हुने बताइरहे पनि अध्यक्षद्वयबीच सहमति नबन्दा समस्या देखिएको हो।
४ असोजमा बसेको नेकपाको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुले प्रधानमन्त्री बाहेकका सबै मन्त्री हटाएर नयाँलाई बनाउनुपर्ने धारणा राखेका थिए। तर, ओली त्यसमा सहमत छैनन्।
उनी कार्यसम्पादन कमजोर भएकाहरुलाई हटाएर बाँकी नयाँ थपेर जाने पक्षमा देखिएको बताइएको छ। नेकपाभित्र वामदेव गौतमलाई पनि मन्त्रिपरिषद् बैठकमा सहभागी गराउनुपर्ने विषयले प्रवेश पाएको छ।
उनीविरुद्ध परेको रिटको पेशी १४ असोजलाई तोकिएको छ। वामदेव गौतमविरुद्वको मुद्दाको टुंगो लागेपछि सहमति हुन सक्ने नेताहरु बताउँछन्।
दुई अध्यक्षबीच केही मन्त्रालय फुटाएर भए पनि सहमति गर्न विषयमा पनि छलफल भइरहेको छ।