शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सभापतिविरुद्ध वरिष्ठ नेता पौडेलसहित २७ केन्द्रीय सदस्यको विरोधपत्र

सभापतिविरुद्ध वरिष्ठ नेता पौडेलसहित २७ केन्द्रीय सदस्यको विरोधपत्र

देउवाले पार्टी विधानविपरीत गरेका निर्णय सच्चाउन माग गर्दै पौडेल समूहले विरोधपत्र बुझाएको हो। 
 |  सोमबार, असोज १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०७७

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाविरुद्व विरोधपत्र बुझाएका छन्। देउवाले पार्टी विधानविपरीत गरेका निर्णय सच्चाउन माग गर्दै पौडेल समूहले विरोधपत्र बुझाएको हो। 

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहित २७ जनाले हस्ताक्षर गरेको विरोधपत्र बुझाइएको हो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैलीसँग असन्तुष्ट पार्टीका वरिष्ठ नेता र केही पदाधिकारीसहित केन्द्रीय सदस्यले हस्ताक्षरसहित विरोधपत्र केन्द्रीय कार्यालयमा बुझाएका छन्। 

केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सोमबार पार्टी केन्द्रीय कार्यालय पुगेर मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति देउवालाई हस्ताक्षरसहितको विरोधपत्र बुझाएका हुन्। 

पार्टी विधानसम्मत सञ्चालन गरी चौधौं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सृजना गरियोस् भन्ने उनीहरुले पत्रमा उल्लेख गरेका छन्। ‘नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा छ। विधानतः चार वर्षको कार्यकालभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने व्यवस्था छ। तर चार वर्षको कार्यकालभित्र महाधिवेशनको कुनै तयारी भएन,’ विरोधपत्रमा गरिएको छ। 

समयावधि भित्रै महाधिवेशनको लागि निरन्तर आवाज उठाउँदा पनि सभापतिज्यूले यसबारे कुरै सुन्न नचाहेको देउवालाई बुझाइएको पत्रमा भनिएको छ। 

‘जब चार वर्षको वैधानिक कार्यकाल सकियो, अनि कुनै त्यस्तो ‘असाधारण परिस्थिति’ को आधार नहुँदा नहुँदै कार्यकाल एक वर्ष बढाइयो। त्यसपछि मात्र महाधिवेशनको प्रक्रिया, त्यो पनि अत्यन्त सुस्त गतिमा प्रारम्भ गरिएको छ, तर समयमै निष्पक्ष ढंगबाट महाधिवेशन नगर्ने प्रपञ्च अझै जारी देखिन्छ,’ पौडेलसहितका नेताहरुले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ।

निर्धारण गरिएको समय २०७७ फागुनभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने प्रमुख दायित्व नेतृत्वकै भएको उनीहरुको ठहर छ। 

‘नेकपाको सरकार स्वेच्छाचारिता, कुशासन र भ्रष्टाचारको दलदलमा फसेका वेला प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको प्रभावकारी प्रतिपक्षीय भूमिकातिर जो कोही आशामुखी हुनु स्वभाविक हो,’ पत्रमा भनिएको छ।

पार्टीभित्रै संगठनमा वर्चश्वको चिन्तामा मात्र केन्द्रित भएकाले नेतृत्व मूल प्रतिपक्षीय दायित्वबाट बञ्चित भएको पौडेल समूहले भनेको छ। 

‘संगठनमा एकता र विश्वासको वातावरण अभिवृद्धि गर्दै धारिलो र शक्तिशाली सांगठनिक अभियानका माध्यमबाट सरकारका गलत कृयाकलाप प्रति खबरदारी गर्ने तथा संगठनको आन्तरिक जीवनलाई सुदृढ बनाउनुपर्ने समयमा अविश्वास, अनेकता र आशंकाको बादल मडारिएर संस्थापन र इतरपक्षका नाममा धु्रवीकरणको स्थिति निम्तिनु पार्टी, लोकतान्त्रिक प्रणाली र राष्ट्रप्रतिको जिम्मेदारी छायाँमा पर्ने काम भइरहेको आभास हुनु दुर्भाग्यपुर्ण छ,’ देउवालाई बुझाइएको पत्रमा भनिएको छ। 

महाधिवेशनको औपचारिक प्रकृया शुरु भएपछि पार्टीको नेतृत्वबाट झन् बढी विधिविहीन, अराजकता, आपसी अविश्वास, द्वन्द्व, पक्ष–विपक्षको रुपमा धु्रवीकृत भएको पौडेल समूहका नेताहरुको आरोप छ ।   

अवैधानिक निर्णयहरु तत्काल खारेज गरी १४ औं महाधिवेशन समयसीमा भित्र स्वच्छ, स्वतन्त्र, निष्पक्ष ढंगबाट सम्पन्न हुने वातावरण सृजना गर्न उनीहरुको माग छ। 

सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा जिल्लाको समायोजन प्रकृया पुरा हुन नसक्नु पछाडि केन्द्रीय नेतृत्वकै बलमा केही जिल्लामा अनावश्यक बखेडा निकाली समायोजन समयमा नगर्ने र महाधिवेशन पछाडि धकेल्ने गम्भीर षडयन्त्र भएको अनुभूति हुन थालेको पौडेल समूहका नेताहरुको आरोप छ। 

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, दिलबहादुर घर्ती, मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडु, शेखर कोइराला, दीपक गिरी, नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरूङ, रत्न शेरचन, बद्रीप्रसाद पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, कल्याणकुमार गुरूङ, रामकृष्ण यादव, हृदयराम थानी, किरण यादव र सरिता प्रसाईंको हस्ताक्षर बुझाइएको हो।

पौडेल समूहले सभापति देउवाले गरेका पछिल्ला निर्णयहरु सच्चाउनुपर्ने माग राख्दै आइरहेको छ। शनिबार पौडेल समूहको भेलाले सभापति देउवालाई दबाब दिन विरोधपत्र दर्ता गर्ने निष्कर्ष निकालेको थियो। 

विरोधपत्रमा कृष्णप्रसाद सिटौला समूहलाई पनि सहभागी गराउन पौडेल समूहले प्रयास गरेको थियो। तर, सिटौंलाले विरोधपत्रमा आफ्नो समूहले हस्ताक्षर नगर्ने बताएपछि आइतबार नै विरोधपत्र दर्ता गर्ने कार्यक्रम रोकिएको थियो। 

यस्तो छ विरोधपत्र
 

प्रकाशित: Sep 28, 2020| 09:01 सोमबार, असोज १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।