जनकपुरधाम– संघ सरकारले मनोमानी ढंगले कर्मचारी सरुवा गर्दै आएकोमा प्रदेश २ का भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री यादवले कडा आलोचना गरेका छन्।
प्रदेश २ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा भएको सचिव हाजिरी प्रकरणको २ दिन नबित्दै मन्त्री यादवले संघ सरकारको यो रवैयाप्रति आक्रोश पोखेका हुन्।
उनले संघीय सरकारले महिना दिन नबित्दै सचिव सरुवा गर्दै आएकाले मन्त्रालयको कामकाज गर्न कठिनाई हुँदै आईरहेको बताउँदै कर्मचारी सरुवाको सांकेतिक बिरोधस्वरुप सचिव सम्झना काफ्लेलाई हाजिर हुन नदिएको स्पष्ट पारे। मन्त्री यादवले प्रदेश सरकारसंग समन्वयन नै नगरी सरुवा भएर आएकी सचिवलाई हाजिरी हुन नदिएको बताए।
कृषि मन्त्रालयमा सरुवा भएर आएकी सचिव काफ्लेलाई हाजिरी हुन नदिएको घटना सम्बन्धमा छानबिन गर्न गठित समितिका संयोजक यादवले मन्त्रालय भित्र भएको घटना निन्दनीय भएको बताउदैँ भने, ‘संघीय सरकार मातहत रहेका अन्य कर्मचारीसमेत यस मन्त्रालयमा आएको र बाहिरबाट भनिएको जस्तो मान्छेहरु आए नआएकोबारे हामी छानविन गर्न विभिन्न घटना परिघटना बारे जानकारी लिदैछौँ ।’
भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री यादवको संयोजकत्वमा गठित समितिमा निर्देशक रतनकुमार झा र जागेश्वर यादव सदस्य छन्।
पशु सेवा विभागबाट प्रदेश २ को कृषि मन्त्रालयमा सरुवा भएर गएकी सचिव काफ्ले असोज ७ गते हाजिर हुन मन्त्रालय गएकी थिइन् तर कृषिमन्त्री शैलेन्द्र साहले बाहिरका व्यक्तिहरु लगाएर हाजिर हुनबाट रोक्न लगाएका थिए।