काठमाडौं– शुक्रबार रातभर परेको भीषण वर्षाले रुपन्देहीका विभिन्न क्षेत्र प्रभावित भएका छन।
वर्षाले पहिरो खसेर सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक अवरुद्ध भएको छ। प्रहरीका अनुसार सिद्धबाबा मन्दिरदेखि दोभानको क्षेत्रसम्ममा करिब दुई दर्जन स्थानमा पहिरो खसेको छ। यातायात सेवा प्रभावित भएको छ।
त्यस्तै तिनाउ नदीमा आएको बाढीले नदी किनारामा रहेका बस्ती प्रभावित भएका छन। कतिपय स्थानमा नदीले कटान गरेको छ। वर्षाले तिनाउ, दानव र रोहिणी नदी आसपासका बस्ती बढी प्रभावित भएको प्रहरीले जनाएको छ।
वर्षाका कारण मर्चवार, देवदह, तिलोत्तमा, ओमसतिया, सियारी, मायादेवी, लुम्बिनी सांस्कृतिक नगरपालिकामा बस्ती डुबानमा परेका छन्। बाढीले भौतिक क्षति नभए पनि मानवीय क्षति भएको जिल्ला प्रहरी कार्यालय रुपन्दीले जनाएको छ।
भैरहवा–लुम्बिनी सडकको बेथरी बजारमा पनि पानी पसेर पसल र घरहरु जलमग्न भएको रुपन्देही प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जनाएका छन।
बाढी, वर्षाले बनगाई, मकरी, गैरगट्टी, गुरवनिया, ओमसतिया गाउँपालिकाको वडा नम्बर ५ पिपरहिया पनि डुबानमा परेको छ। रोहिणी नदीमा पनि पानीको सतह बढेकाले त्यस क्षेत्रका १५ घर डुबानमा परेका छन्।
वर्षाले लुम्बिनी सांस्कृतिक नगरपालिका १२ सुनवलका ४ वटा घरका पर्खाल भत्किएको, तिलोत्तमा नगरपालिका वडा नं ११ गणेशनगर स्थित सुखौरा खोलाको बहाव बढेर गणेशनगरका धनबहादुर सार्कीको टिनले छाएको घर र बुंगुरको खोर बगाएको छ प्रहरीले जनाएको छ।
लुम्बिनी सांस्कृतिक नगरपालिका १३ मा बलिराम हरिजनको एक तले खरले छाएको कच्ची घर भत्किदा हरिजनकी श्रीमती कुसुम हरिजनको दाहिने खुट्टा भाँच्चिएको छ। त्यस्तै रघुविर दमाई, मेन बहादुर रुचालको टिनले छाएको कच्ची घर समेत बगाएको छ।
देवदह नगरपालिका १० रम्बादेवीटोलमा पनि वर्षाले क्षति गरेको छ। वर्षाका कारण चरंगे खोलाको किनारमा रहेका राम श्रेष्ठको ३ कोठे ब्लक र जस्ताले बनाएको घर र घरमा रहेका दुई बाख्रा, ५–६ वटा कुखुरा, लत्ता कपडा, खाद्यान्न र अन्य सामान बगाएको छ।
अहिलेसम्म मानवीय क्षतिको सूचना नआए पनि भौतिक क्षतिको पूर्ण विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ।