शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तीन सय ५० जना क्षमता भएको झापा कारागारमा हजारभन्दा बढी कैदीबन्दी

तीन सय ५० जना क्षमता भएको झापा कारागारमा हजारभन्दा बढी कैदीबन्दी

झापा कारागारमा सात जना कैदीबन्दीलाई एकैपटक कोरोना संक्रमण पुष्टि भएपछि अन्य कैदीबन्दी त्रसित भएका छन।  कारागारको क्षमता तीन सय ५० मात्र भए पनि यहाँ एक हजार एक सय ४३ जनालाई राखिएको छ। 
 |  शनिबार, असोज १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १०, २०७७

झापा– झापा कारागारमा सात जना कैदीबन्दीलाई एकैपटक कोरोना संक्रमण पुष्टि भएपछि अन्य कैदीबन्दी त्रसित भएका छन।  कारागारको क्षमता तीन सय ५० मात्र भए पनि यहाँ एक हजार एक सय ४३ जनालाई राखिएको छ। 

क्षमताभन्दा तेब्बर कैदीबन्दी भएको झापा कारागारमा एक सातादेखि धेरै जनालाई कोरोनाको जस्तै ज्वरो, रुघाखोकी र पखालालगायतका लक्षण देखा परेको उनीहरुको भनाइ छ। 

गत साता काठमाडौं लैजान लागिएका एक कैदीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। शुक्रबार सात जना थपिएपछि अब झापा कारागारमा सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ। उनीहरुको उपचार भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड उपचार केन्द्रमा भइरहेको छ।

‘कोभिडको जस्तै लक्षण भएका बिरामीको सङ्ख्या दिनहुँ बढिरहेको छ,’ झापा कारागारका कैदीबन्दीको नेतृत्व गर्दै आएका आन्तरिक प्रशासन प्रमुख मोहन धितालले भने, ‘राज्यका तर्फबाट स्वास्थ्य सुरक्षा र उपचारका विषयमा भरपर्दो कुनै उपाय अवलम्बन नगरिँदा हामीले असुरक्षित महसुस गरेका छौँ ।’

उनले हाल झापा कारागारमा ८२ महिला र एक हजार ६१ पुरुष गरी कैद भुक्तान गरिरहेका र पुर्पक्षका लागि थुनामा राखिएका जम्मा एक हजार एक सय ४३ कैदीबन्दी रहेको बताए। 

जबकी यो कारागारको क्षमता तीन सय ५० मात्र हो। पालो गरेर सुत्नुपर्ने र कोचाकोच गरेर बस्नुपर्ने अवस्था रहेको, कारागारमा सामाजिक दूरी कायम हुन असम्भव रहेको, उपचारको नाममा एक जना अहेवले जाँचेर सिटामोल मात्र दिने गरेको, साबुनपानी तथा स्यानिटाइजर उपलब्ध नभएको उनले गुनासो गरे।  

अर्का कैदी रमेश पोखरेलले थुनेर राखेका कैदीबन्दीको पनि बाँच्न पाउने नागरिक हक भएकाले राज्यले तत्काल कारागारमा कैदीबन्दीको चाप घटाएर स्वास्थ्य सुरक्षा र उपचारको प्रबन्ध मिलाउनुपर्ने माग गरे। 

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कैदीबन्दीमा सामाजिक दूरी कायम हुन नसक्ने अवस्था भएकाले सर्वोच्च अदालतले गत महिना दिएको आदेशअनुसार सरकारले कारागारमा कैदीबन्दीको चाप घटाउनु पर्ने उनको धारणा छ। 

‘हामी पनि राज्यका नागरिक नै हौँ,’ सङ्क्रमणका बेला बाँच्न पाउने कैदीबन्दीको हकको हनन भइरहेको दाबी गर्दै पोखरेलले गरे।  

झापा कारागारमा हाल कोभिडले धेरै सताउने ठानिएको स्वासप्रस्वास (दम) का सय, टिबीका २०, किड्नीका आठ, मुटुका १२ , मानसिक बिरामीका ३५, एचआइभीका चार, मधुमेहका ३० र ज्येष्ठ नागरिक ९० जना कैदीबन्दी छन्।

कैदीबन्दीमा कोरोनासँगै मौसमी ज्वरो फैलिएको जनाउँदै झापा कारागारका प्रमुख राजेन्द्र गौतमले अत्यधिक चापका कारण कैदीबन्दीमा सामाजिक दूरी कायम गर्न नसकिने बताए। 

उनले सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले कारागारभित्रकै एउटा ब्लकलाई आइसोलेसनको रुपमा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए।  

प्रकाशित: Sep 26, 2020| 03:23 शनिबार, असोज १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।