शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारीमा ओली, आज पनि दाहालसँग छलफल

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारीमा ओली, आज पनि दाहालसँग छलफल

आज पनि ओली र दाहालबीच मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक नियुक्ति लगायतका विषयमा करिब २ घण्टा छलफल भएको छ। 
 |  शुक्रबार, असोज ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम तयारीमा जुटेका छन्। 

यसका लागि उनले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरिरहेका छन्। आज पनि ओली र दाहालबीच मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक नियुक्ति लगायतका विषयमा करिब २ घण्टा छलफल भएको छ। 

‘उहाँहरुले आज पनि लामै छलफल गर्नुभएको छ, सम्भवतः केही दिनमा नै मन्त्रिपरिषद् पुनर्गठन हुन्छ होला,’ अध्यक्ष दाहाल निकट स्रोतले भन्यो। निरन्तर छलफल भइरहे पनि ठोस निर्णयमा भने दुवै अध्यक्ष पुगिसकेका छैनन्। 

पुनर्गठनमा सबै मन्त्री हेरफेर गर्ने वा दुई वर्ष पूरा भएकालाई हटाएर नयाँ नियुक्ति गर्ने वा कार्य सम्पादन कमजोर भएकाहरुलाई फेरवदल गर्ने लगायतका विकल्पमा अध्यक्षद्वयबीच छलफल भइरहेको छ। 

आजको भेटमा रिक्त रहेका विभिन्न विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्ने विषयमा पनि छलफल भएको छ। कृषि तथा वन विश्वविद्यालयको उपकुलपतिमा डा. पुण्यप्रसाद रेग्मी र नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा डा. यादव लामिछानेलाई नियुक्त गर्ने विषयमा ओली–दाहालले निर्णय गरिसकेका छन्। दुवै जनालाई अब बस्ने मन्त्रिपरिषद् बैठकले नियुक्त गर्नेछ।

यसअघि हिजो बिहीबार पनि बालुवाटारमा दुई अध्यक्षबीच लामो छलफल भएको थियो। 

सत्तारुढ दल नेकपाको २६ भदौमा सम्पन्न स्थायी कमिटी बैठक र आइतबार र मंगलबार बसेको सचिवालय बैठकले पनि मन्त्रिपरिषद् पुनर्गठन गर्ने, संवैधानिक नियुक्तिलाई पूर्णता दिने र पार्टी एकताका बाँकी रहेका काम टुंगो लगाउने जिम्मेवारी दुई अध्यक्षलाई दिने निर्णय गरेको थियो।

मंगलबार बसेको सचिवालय बैठकले पार्टी एकताका सन्दर्भमा १० दिनभित्र ठोस कार्ययोजना ल्याउन अध्यक्षद्वय र महासचिवलाई निर्देशन दिएको थियो। 

नेकपामा ३२ विभाग, अनुशासन, लेखा, निर्वाचन आयोग, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार परिषद्, जनसंगठनहरू, प्रवास समन्वय र विशेष जिल्ला कमिटीहरुले पूर्णता पाउन बाँकी नै छ। 

‘मन्त्रिपरिषद् पुनर्गठन र संवैधानिक नियुक्ति टुंगोमा पुर्याउन अध्यक्षद्वयले नै छलफल गरेर टुंगो लगाउनु हुन्छ,’ नेकपाका एक स्थायी कमिटी सदस्यले भने, ‘सकभर चाँडै नै मन्त्रिपरिषद्को पुनर्गठन हुन्छ होला।’

संवैधानिक नियुक्तिको टुंगो लगाउन संवैधानिक परिषद्को बैठक बस्नुपर्ने हुन्छ। त्यसका लागि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग पनि प्रधानमन्त्री ओलीले विभिन्न चरणमा छलफल गरिसकेका छन्। संवैधानिक निकायमा हाल ४० पद रिक्त छन्।

प्रकाशित: Sep 25, 2020| 07:44 शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।