शनिबार, भदौ १३, २०८३

यस कारण हुँदैन फागुनमा कांग्रेसको महाधिवेशन

करिब एक महिना  नेपाली चाडबाडमा व्यस्त हुने र त्यसगत्तै सुरु हुने चिसोयाममा हिमाली र उच्च पहाडी क्षेत्रमा वडातहदेखि जिल्ला अधिवेशन सम्पन्न हुने सम्भावना कमजोर बन्ने छ। 
 |  शुक्रबार, असोज ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०७७

काठमाडौं- मुलुकको पुरानो र ठूलो लोकतान्त्रिक दल नेपाली कांग्रेसको आगामी फागनु ७ देखि १० का लागि तय भएको १४ औं महाधिवेशनतिर पार्टी नेता, कार्यकर्ता मात्र होइन, धेरैको ध्यान केन्द्रित छ। तर कांग्रेको महाधिवेशन फागुनमा नहुने करिब पक्का भएको छ। 

नेताहरूले कोरोना भाइरस महामारीका कारण फागुनमा महाधिवेशन हुन नसक्ने आशयसहितको अभिव्यक्ति दिइरहेका छन्। 
महाधिवेशन कार्यतालिकाअनुसार ११ जिल्लामा साउनमा समायोजन सकिनुपर्ने थियो। नयाँ सदस्यता वितरण र नवीकरण पनि साउन मसान्तभित्रै सक्ने कार्यसूची थियो। 

तर, असोज दोस्रो सातासम्म पनि समायोजन, सदस्यता वितरण र नवीकरणका काम अघि बढ्नै सकेका छैनन्। 

‘निर्वाचन कार्यतालिका’ अनुसार काम नभएकाले महाधिवेशन तोकिएको समयमा सम्पन्न हुन नसक्ने नेताहरुको अभिव्यक्तिलाई थप बल दिएको छ। पार्टीको आन्तरिक विवादले पनि महाधिवेशनको कार्यतालिका प्रभावित हुन पुगको केही नेताहरूको बुझाइ छ। 

केही नेताहरू लोकतान्त्रिक पार्टीले समयमै महाधिवेशन गरेर उदाहरणीय बन्नुपर्नेमा जोड दिन थालेका छन्।

केन्द्रीय निर्वाचन समितिको जिम्मेवारीमा रहेका राधेश्याम अधिकारीका अनुसार भदौ मसान्तसम्म समितिमा अन्तिम नामावली आइसक्नु पर्ने थियो। 

‘म कहाँ कुनै नामावली आएको छैन,’ अधिकारी भन्छन्, ‘किन आएन त्यो पार्टीकै नेताहरुलाई सोध्नुस्। नौ जिल्लामा समायोजन नै बाँकी छ भन्ने सुनेको छु।’

यो अवस्थामा तोकिएको मितिमा महाधिवेशन होला त? अधिकारी भन्छन्, ‘त्यो पनि नेता र पदाधिकारीहरूलाई नै सोध्नुस् न। कार्यतालिकाअनुसार काम भएन भने महाधिवेशन प्रभावित त होला नि!’   

पार्टी विधानअनुसार महाधिवेशन फागुनभन्दा पर ‘धकेल्ने’ छुट कांग्रेससँग छैन। विधानको दफा ४३ मा सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चारवर्षे हुने व्यवस्था छ। 

सोही दफामा रहेको ‘असाधारण परिस्थिति’ को सुविधा प्रयोग गर्दै कांग्रेसले एक वर्ष अवधि थपिसकेको छ। यसरी वर्तमान केन्द्रीय कार्यसमितिको पदावधि फागुन १९ मा सकिँदै छ। 

फागुनमा सम्भावना न्यून  

कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक १४ औं महाधिवेशन फागुनमा सम्पन्न हुने सम्भावना न्यून रहेको बताउँछन्। 

संस्थापन निकट मानिने लेखक भन्छन्, ‘कार्यतालिका धेरै पछाडि छुटिसक्यो, हामी धेरै अगाढि आइसक्यौँ। फागुनमा महाधिवेशनको सम्भावना न्यून देख्छु।’ 

कांग्रेसमा क्रियाशील सदस्यता वितरणपछि विवाद हुने परम्पराजस्तै छ। 

१३ औं महाधिवेशनमा क्रियाशील सदस्यतामाथिको विवाद समाधान गर्न ६ महिनाभन्दा बढी लागेको थियो। 

लेखकले भने, ‘सदस्यता वितरण गरिहाल्ने हो भने पनि क्रियासिल सदस्यतामाथि उठ्ने विवाद मिलाउन कम्तीमा ६ महिना लाग्छ।’ 
उनले यस्तो विवाद फास्ट ट्र्याकमा पनि मिलाउन नसकिने बताए। भने, ‘निकै मिहिनेत गर्ने हो भने पनि तीन–चार महिना लाग्ला। हामी क्रियाशील सदस्यता वितरण र नवीकरण गर्ने तालीकाभन्दा धेरै पर पनि त आइसक्यौं।’ 

अब के हुन्छ त भन्ने जिज्ञासामा उनले भने, ‘१९ गते पार्टीको केन्द्रीय समिति बैठक बस्दै छ, सम्भवतः नयाँ कार्यतालिका सार्वजनिक गर्ला।’

कांग्रेसका अर्का नेता डा. शेखर कोइराला भने कांग्रेसले आफूलाई लोकतान्त्रिक पार्टी भन्ने हो भने तोकिएको समयमा अधिवेशन गर्न जरुरी रहेको बताउँछन। उनी भन्छन्, ‘कांग्रेस लोकतान्त्रिक पार्टी हो भने लोकतान्त्रिक पद्धतिअनुसार हिँड्नुपर्‍यो। महाधिवेशन गराउनु प¥यो। समयका महाधिवेशन गर्न नसक्ने पार्टीले लोकतान्त्रिक पद्तिमा हिँड्दैछु भनेर अरुलाई सिकाउन मिल्दैन। 

त्यसो त पार्टीमा अनेक अलमलले कार्यकर्तामा एक प्रकारको निराशा छाएको छ। नेवि संघ बैतडीका पूर्वअध्यक्ष नरेन्द्र चन्दले भने, ‘सरकार अकर्मण्य त भयो नै, प्रमुख प्रतिपक्षीको भूमिका पनि आसलाग्दो भएन। सरकारको साँक्षीजस्तो भएको छ।’ कोरोना महामारीको चपेटामा परेका जनताका पक्षमा कम्मर कसेर लाग्नुपर्ने पार्टी अलमलमा पर्न नहुने उनको भनाइ छ। 

वैशाखभन्दा पर जानै हुँदैन

महाधिवेशनबारे अलमलमा परेकाले कांग्रेस बलियो प्रतिपक्षी भएर प्रस्तुत हुन नसकेको स्वीकार्छन् केन्द्रीय सदस्य डा. कोइराला। 

‘साथीहरु कोरोना संक्रमणलाई देखाएर दुईचार दिन भए पनि पर धकेलौं भन्ने मनस्थितिमा छन्,’ कोइरालाले भने, ‘कोरोना केही होइन भन्ने होइन। कोरोना संक्रमण झन् बढी बढ्ने सम्भावना रहन्छ। महाधिवेशन नै नगर्ने भन्ने त हुँदैन नि!’

१४ औं महाधिवेशन आगामी फागनुमा सम्पन्न गर्ने कार्यतालिका केन्द्रीय समिति बैठकले गत पुसमा सार्वजनिक गरेपछि विवाद चुलियो। 

संस्थापन र इतरपक्षको कार्यतालिका ल्याउनुपर्ने विवाद समाधान गर्दै गत माघमा महाधिवेशन फागुन ७ देखि १० मा सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक भएको थियो।  कार्यतालिका दुईपटक हेरफेर भइसकेको छ। 

विधानअनुसार सभापतिले ६ महिनाभित्र विभाग गठन र सदस्य मनोनयन गर्नुपर्ने थियो। सभापति शेरबहादुर देउवालाई आफू कमजोर भएको महुसस भएकाले नै आफ्नो पक्षमा प्रभाव बढाउन अहिले आएर मनोनयन गरिरहेको कोइरालाको जिकिर छ। 

उनी भन्छन्, ‘सभापति आफू कमजोर हुँदै गएपछि महाधिवेशन कार्यतालिका आइसकेपछि विभाग गठन र सदस्य मनोनयनमा केन्द्रित भएका हुन्।’ 

यस्तै सभापति देउवाले केन्द्रीय समिति र विभागमा सदस्य मनोनीत गर्ने क्रम बढाएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह रुष्ट छ। यद्यपि पौडेललाई सभापति देउवाले महाधिवेशनका लागि संयोजक बस्न भन्दा उनले अस्वीकार गरेको कुरा पनि कोइरालाले बताए। 

‘आरोप–प्रत्यारोपले कसैलाई फाइदा गर्दैन,’ नेता कोइरालाले भने, ‘महाधिवेशनका लागि सभापतिले वरिष्ठ नेता पौडेललाई संयोजक बस्न आग्रह गर्नुभएको थियो। उहाँ बस्नु भएन।’ 

कार्यतालिका निकै प्रभावित भइसकेकाले फागुनमा महाधिवेशन हुनेमा डा. कोइराला पनि विश्वस्त छैनन्। 

‘नियत सफा नभएकैले फागुनमा सम्भव छैन’

कांग्रेस नेता प्रदीप पौडेल पनि फागुनमा महाधिवेशन नहुने पक्का भइसकेको बताउँछन्। ‘मिति तोकेर मात्र हुँदैन, महाधिवेशन गर्ने नियत सफा हुनुपर्छ,’ पौडेलले भने। 

उनले महाधिवेशन भदौमा लग्ने तयारी भएको आशंका रहेको बताए। भने, ‘त्यस बेला पनि यस्तै अवस्था रहिरहे के होला? यो सोच्नै हुँदैन। महाधिवेशन वैशाखभन्दा पर जानै हुँदैन।’

नेता पौडेलले समायोजन विधिविधानमा तय भइसकेकाले सामान्य प्राविधिक कुरा मात्रै भएको बताए। 

‘समायोजन, सदस्यता नवीकरण ठूलो विषय छैन,’ उनले भने, ‘क्रियाशील सदस्यता वितरण र विवादले समय लिन्छ तर कहिल्यै नगरेको काम त होइन नि!’ 

उनी महाधिवेशन समयमै सम्पन्न हुने–नहुने विषयमा सबै कांग्रेसका सबै नेता उत्तिकै जिम्मेवार हुने बताउँछन्। 

‘जिम्मेवारी मुख्य नेतृत्वलाई जान्छ, तर दोषारोपण गरेर पन्छिने अधिकार कांग्रेस हुँ भन्ने कसैलाई छैन,’ नेता पौडेलले भने, ‘कांग्रेस र कांग्रेसको नेता भएपछि पार्टीलाई चुस्त र चलायमान बनाउने अनि लोकतान्त्रिक पद्धति अपनाउने जिम्मा त हरेकलाई होला नि!’

महाधिवेशन फागुनमा नहुने अन्य कारण

१४ औं महाधिवेशन कार्यतालिकामा गाउँ र नगर वडाका अधिवेशन मंसिर ९ मा सक्ने उल्लेख छ।

यस्तै गाउँ/नगरपालिका अधिवेशन ११ मंसिरमा, प्रदेशसभा क्षेत्रीय अधिवेशन मंसिर १५, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन मंसिर १७ मा गर्ने कार्यतालिका छ। जिल्ला अधिवेशन मंसिर २५ गते, प्रदेश अधिवेशन पुस १५ गते र महाधिवेशन फागुन ७ देखि १० मा सम्पन्न गर्ने तय गरेको थियो। 

कार्यतालिकाको कार्यप्रगति हेर्दा यी सबै प्रभावित हुने पक्कापक्कीजस्तै छ। नेताहरूले आधिकारिक रूपमा ‘फागुनमा महाधिवेशन हुँदैन’ भन्न नसके पनि कार्यतालिका अनुसार कार्य हुन नसकेको, अन्य पार्टीबाट प्रवेश गरेर आएकालाई दिइएको क्रियाशील सदस्य संख्या, क्रियाशीललगायत विवादले सबै तालिका प्रभावित हुने नेताहरुकै निचोड छ। 

करिब एक महिना  नेपाली चाडबाडमा व्यस्त हुने र त्यसगत्तै सुरु हुने चिसोयाममा हिमाली र उच्च पहाडी क्षेत्रमा वडातहदेखि जिल्ला अधिवेशन सम्पन्न हुने सम्भावना कमजोर बन्ने छ। 

कारण, कतिपय हिमाली जिल्लामा हिउँदको समयमा विद्यालय नै बन्द गरेर स्थानीय बासिन्दा जाडो छल्न बेसी झर्ने गर्छन्।  
महाधिवेशनको आधिकारिक निर्णयका लागि आगामी केन्द्रीय समिति बैठक कुर्नैपर्ने हुन्छ। कांग्रेस केन्द्रीय समिति बैठक असोज १९ गतेका लागि डाकिएको छ।

विकल्प के त ?

‘महाधिवेशनको विकल्प नै छैन,’ आगामी महाधिवेशनमा पार्टी सभापतिका दाबेदार मानिएका नेता कोइरालाले भने, ‘कार्यतालिकाको प्रगति हेर्दा फागुनमा महाधिवेशन सम्भव देखिँदैन। तर वैशाखभन्दा पर जानै हुँदैन।’

कोरोनाको बीचमा कसरी महाधिवेशन गर्ने? उनी भन्छन्, ‘कोरोना केही होइन म भन्दिनँ। तर जिल्लाजिल्लाका साथी मास्क लगाएर आइरहेकै छन्। त्यसो भन्नेहरु दिनहुँ कति कार्यक्रममा गइरहनुभएको छ। अनि सुरक्षाका मापदण्ड अपनाएर किन गर्न सकिँदैन?’

नेपाली कांग्रेसले २०१४ सालसम्म जिल्लाजिल्लामा चुनाव गथ्र्यो। अहिले पनि १७५ निर्वाचन क्षेत्रमा केन्द्रीय निर्वाचनको बक्स राखेर महाधिवेशन गर्न सकिने कोइरालाको भनाइ छ। उनी भन्छन्, ‘इच्छाशक्ति र नियत ठिक हुनुपर्छ, सब सम्भव छ।’

समयमा महाधिवेशन गरिएन भने पार्टी जीवनका लागि घातक हुने उनको दाबी छ। ‘१३ औँ महाधिवेशन साढे पाँच वर्षमा गर्‍यौं। साथीहरूले १४ औं महाधिवेशन पनि त्यसै गर्न सकिन्छ भन्ने सोच्नु भएको होला। सरकारले संविधानको प्रावधान हटाउन मानिदिएन भने के हुन्छ?’

तेह्रौं महाधिवेशनमा संविधान संशोधन र अहिलेको संवैधानिक व्यवस्था

नेपाली कांग्रेसले १३ औं महाधिवेशन पनि समयमै गर्न नसकेपछि अन्तरिम संविधान संशोधन गर्नुपरेको थियो। अन्तरिम संविधान २०६३ मा राजनीतिक दलले पदाधिकारीको निर्वाचन पाँच वर्षमा कम्तीमा एक पटक गर्नुपर्ने व्यवस्था थियो। तर संविधान निर्माणको कामले कांग्रेसले समयमा महाधिवेशन गर्न नसकेपछि अन्तरिम संविधान संशोधन गरेर ६ महिना थपिएको थियो।

नेपालको संविधानको धारा २६ (४) (ख) मा राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक सो दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनु पर्छ भन्ने व्यवस्था छ।

यस्तै सोही धारामा तर विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा छ महीनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन भन्ने व्यवस्था छ। यसकारण २०७८ को भदौसम्ममा महाधिवेशन गर्ने सुविधा कांग्रेससँग छ।

 

प्रकाशित: Sep 25, 2020| 04:50 शुक्रबार, असोज ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।