काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संयुक्त अरब इमरेट्स (यूएई)लाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।
नेपालका लागि यूएईका राजदूत सईद हमदान अल नाक्बीसँग आइतबार भएको शिष्टाचार भेटमा मन्त्री भट्टराईले नेपालमा पर्यटनको सम्भावना भएकोले लगानी गर्न आग्रह गरेका हुन्।
भेटमा राजदूत नाक्बीले काठमाडौं–यूएई उडान थप गर्न आग्रह गरेका थिए। उक्त विषयमा भट्टराईले आफू सकारात्मक रहेको र चाँडै निर्णय लिने जानकारी गराए।
भेटमा भट्टराईले कोरोनाको समयमा नेपाल फर्कन चाहने श्रमिकलाई यूएई सरकारले गरेको सहयोगको प्रशंसासमेत गरे।