पोखरा- कृत्रिम अभाव सिर्जना गरी प्याजमा कालोबजारी गर्ने पोखराका दुईवटा पसलमा सिलबन्दी गरिएको छ।
प्रदेश बजार अनुगमन समितिले पोखराको शान्तिवनस्थित तरकारी बजारको ५१ र ५२ नम्बरका सटरमा सिलबन्दी गरेको हो।
दुवै सटर एउटै व्यवसायीले सन्दीपश्री ट्रेडर्सका नामबाट सञ्चालन गर्दै आएका छन् ।
४० रुपैयाँमा किनेर ल्याएको प्याज १११ रुपैयाँ प्रतिकिलो होलसेलमा बिक्री गरेको प्रमाण भेटेपछि सिलबन्दी गरिएको समितिले जनाएको छ।
अनुगमन गर्दा मूल्य बढेको भन्दै ४० रुपैयाँमा किनेको पुरानै स्टकलाई १११ रुपैयाँमा बेचेका पाइएको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक एवं बजार अनुगमन समितिका संयोजक गोकुल शर्मा पौडेलले बताए।
पाँच सय किलो प्याज गोदाममा राखेर चर्को मूल्यमा थोरै थोरै बिक्री गर्दै आएको उक्त पसलको कारोबार पूरै रोक्का गरिएको पौडेलले जानकारी दिए।
भारतले नेपालमा प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारीले मनपरी गर्न थालेका छन्।
प्याजको भाउ महँगो भएर आउँदा बिक्री मूल्य बढाउनु स्वाभाविक भए पनि पुरानै स्टक बाँकी रहे पनि व्यापारीले मनपरी गरेको उनले बताए।
प्याज आउन रोकिएसँगै पोखराका अधिकांश प्याज गोदाम बन्द भइसकेका छन्। अनुगमन टोली सिमलचौर, बगाले टोल र पस्र्याङस्थित प्याज गोदाममा पुग्दा ती गोदाम बन्द थिए।
कृत्रिम अभाव सिर्जना गर्न गोदाम बन्द गरेको पाइएको उपभोक्ता मञ्च गण्डकी संयोजक कपिलनाथ कोइराला बताउँछन्।
भारतले प्याजमा निर्यातमा प्रतिबन्ध लगाएकाले प्याजको भाउ अझै बढ्ने कृषि उपज तथा थोक बजारकी योजना सहायक रुपा दाहालको भनाइ छ।
पोखरामा भारतबाट मात्रै प्याज आउँछ। सिजनमा सातामा ४० देखि ५० मेट्रिक टन प्याज आयात हुने गरेको छ।
गुनासो आएपछि शुक्रबार अनुगमनमा पुगेको टोलीले प्याजको मूल्यमा मनपरी नगर्न र गरेको पाइए कारबाही गरिने जनाएको छ।
प्रदेश उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, उपभोक्ता मञ्च, गुणस्तर तथा नापतौल डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिको टोली अनुगमनमा पुगेको थियो।
