एन आई सी एशिया बैंकले कोभिड–१९ बाट आफ्ना ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न ब्याजदरमा सहुलियत प्रदान गरेको छ। बैंकले असाेज मसान्तका लागि समेत पुनः आकर्षक सहुलियत योजना ल्याएको छ।
जस अनुरुप साउन मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको यही असाेज मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र चुक्ता भुक्तान गरेमा साविकको ब्याजदरलाई घटाई १ कार्तिक २०७७ देखि लागू हुनेगरी ८.९९ प्रतिशत ब्याजदर कायम गरिनेछ।
यस बैंकबाट मासिक तथा त्रयमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका सम्पूर्ण योग्य ग्राहकहरूले यस योजनामा सहभागी हुनसक्ने बैंकले जनाएको छ।
नेपाल राष्ट्र बैंकबाट गत वैशाख १६ गते २०७६ चैत्र मसान्तसम्म कायम ब्याजदरमा २ प्रतिशत ब्याज सहुलियत दिन गरिएको निर्देशनको तत्काल कार्यान्वयन गर्दै उक्त २ प्रतिशत ब्याज सहुलियतको अलावा यस बैंकले आफ्नै प्रयासबाट ऋणीहरूले वैशाख तथा जेष्ठ महिनासम्ममा तिर्नुपर्ने सम्पूर्ण किस्ता वा ब्याज रकम क्रमशः वैशाख तथा जेष्ठ मसान्तभित्र पूर्ण रुपमा चुक्ता भुक्तान गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको थियो।
