शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सहकारीहरुलाई तोकिएकै समयमा साधारणसभा गर्न विभागको निर्देशन

सहकारीहरुलाई तोकिएकै समयमा साधारणसभा गर्न विभागको निर्देशन

सहकारी संघसंस्थाहरुलाई तोकिएकै समयमा साधारणसभा गर्न सहकारी विभागले निर्देशन दिएको छ।
 |  बिहीबार, असोज १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १, २०७७

काठमाडौं- सहकारी संघसंस्थाहरुलाई तोकिएकै समयमा साधारणसभा गर्न सहकारी विभागले निर्देशन दिएको छ।

कोभिड–१९ को कारण देखाएर संस्थाहरुले साधारणसभा गर्ने समयसीमा थप्न दवाव दिइरहेका बेला सहकारी विभागले बैकल्पिक व्यवस्थाबाट भए पनि तोकिएकै समयभित्र साधारणसभा गर्न निर्देशन दिएको हो।

विभागले विहीबार सूचना जारी गर्दै सहकारीहरुलाई विद्युतीय प्रविधि प्रयोग गरेर वा १५ दिनको समयभित्र सदस्यहरुलाई आलोपालोमा उपस्थित गराएर साधारणसभा गर्न सकिने व्यवस्था गरेको हो।

संस्थाहरुले तोकिएकै समयभित्र लेखापरीक्षण गरी साधारणसभा भन्दा १५ दिनअघि प्रतिवेदन सदस्यलाई पुर्याउनुपर्नेछ। प्रतिवेदन प्राप्त भएपछि सदस्यहरुको सुझाव, सल्लाह र संशोधन प्रस्ताव साधारणसभाको एजेण्डामा समावेश गर्नुपर्नेछ।

त्यसपछि संस्थाहरुले विद्युतीय प्रविधिको प्रयोग गरी साधारणसभा गर्न सक्नेछन्। साधारणसभाको सामाजिक सञ्जाल वा स्थानीय सञ्चार माध्यमबाट प्रत्यक्ष प्रशारण गर्नुपर्ने र त्यसको सम्पूर्ण रेकर्डिङ नियमनकारी निकायमा साधारणसभा सकिएको १५ दिनभित्र पेश गर्नुपर्नेछ’ भन्ने उल्लेख गरिएको छ।

विद्युतीय प्रविधिको प्रयोग गरी साधारणसभा गर्न नसक्ने संस्थाहरुले भने १५ दिनको समयसीमा दिएर उपस्थिति पुस्तिका राखेर साधारणसभा गर्न सक्नेछन्।

यसैगरी ऐनको व्यवस्थाअनुसार एकाईगत रुपमा साधारणसभा गर्ने संस्थाहरुले पनि भर्चुअल वा १५ दिनको समय दिएर भौतिक उपस्थितिमा साधारणसभा गर्न सक्ने प्रावधान राखिएको छ।

यसरी साधारणसभा गर्दा ऐनअनुसार तोकिएको उपस्थिति भएको हस्ताक्षर भने अनिवार्य गरेको विभागको सूचनामा उल्लेख छ।

सहकारी ऐन–२०७४ मा सहकारी संघसंस्थाले आर्थिक वर्ष सकिएको तीन महिनाभित्र लेखापरीक्षण र ६ महिनाभित्र वार्षिक साधारणसभा गर्नुपर्ने प्रावधान छ।

यस्तै साधारणसभाका लागि संस्थामा कायम रहेको सदस्य संख्याको ५१ प्रतिशतको उपस्थितिमा अनिवार्य गरिएको छ।

प्रकाशित: Sep 17, 2020| 19:25 बिहीबार, असोज १, २०७७
प्रतिक्रिया दिनुहोस्