काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) ३०.७८ अंकले बढेर १५७२.१८ अंकमा अडिएको छ।
कारोबार खुल्ने वित्तिकै ओरालो लागेको नेप्से १८ मिनेटपछि भने उकालो लाग्न सुरु गरेको थियो।
आज १९१ कम्पनीको ३ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
बिहीबार निर्जिवन बीमाको बाहेक सम्पूर्ण समूहगत परिसूचक उकालो लागेको छ। आज होटल र जलविद्युत् क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ। यी क्षेत्रको परिसूचक ८८.३८ र १६१.५१ अंकले उकालो लागेको छ।
पर्यटन क्षेत्र पुनः फस्टाउन सक्ने र अहिले होटलको सेयर मूल्य कम भएको समयमा किनेर रिजर्भमा राखी पछि बेच्न चाहनेहरुले यो क्षेत्रमा लगानी गरिरहेका छन्।
आज सोल्टी होटल, तारागाउँ रिसोर्ट, ओरेन्टल होटलको मूल्य १० प्रतिशतले बढेको छ।
त्यस्तै जलविद्युत् क्षेत्रको माथिल्लो तामाकोसी, कालिका पावर, अरुण भ्याली, वरुण हाइड्रोपावर, सान्जेन जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेको छ।
रिलायन्स लाइफ इन्स्योरेन्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट फाइनान्स, समृद्धि फाइनान्सलगायत कम्पनीको १० प्रतिशतभन्दा बढीले मूल्य बढेको छ।
बिहीबार बैंकिङ २८, व्यापार ६, विकास बैंक ६६, फाइनान्स ४१, उत्पादन १३, अन्य ८, माइक्रोफाइनान्स १२, जीवन बीमा समूह ४९ अंकले बढेको छ।
सम्पूर्ण परिसूचक उकालो लाग्दा पनि निर्जिवन बीमा समूह भने ०.४१ अंकले ओरालो लागेको छ।
आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक १४ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने नेपाल बैंकको १२ करोड रुपैयाँ बराबरको कारोबार भयो।
एनआरएन लघुवित्तको मूल्य सबैभन्दा बढी ६. ७३ प्रतिशतले घटेको छ।
