काठमाडौं– बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले नागरिकबाट प्रहरी कर्मचारीसँग सम्बन्धित गुनासो तथा सुझाव संकलन गर्ने भएको छ।
प्रहरी सेवा थप प्रभावकारी बनाउन प्रदेशभरिका हरेक स्थानीय तहमा गुनासो तथा सुझाव पेटिका राख्न लागिएको हो।
प्रहरी कर्मचारीबाट सम्पादन भएका कामकारबाहीका सम्बन्धमा आमनागरिकबाट प्राप्त हुने सल्लाहसुझावका साथै गुनासो उचित सम्बोधन गरी प्रहरी सेवालाई परिमार्जन गर्ने उद्देश्यले गुनासो तथा सुझावपेटिका सञ्चालन गर्न लागिएको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिए।
यसका लागि आवश्यक सबै कार्ययोजना निर्माण गरिसकिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
कार्ययोजनामा उल्लिखित व्यवस्थाअनुसार पहिलो चरणमा महानगरपालिका, उपमहानगरपालिका र सदरमुकाममा रहेको गाउँपालिकामा, दोस्रो चरणमा सबै गाउँपालिका र तेस्रो चरणमा सबै वडा कार्यालयहरु समावेश हुनेछन्।
बिहीबार प्रदेशमा रहेका एक महानगरपालिका, एक उपमहानगरपालिका, २५ नगरपालिका र एक गाँउपालिकामा सुझावपेटिका राख्न लागिएको छ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमका प्रमुख सहयोगी स्थानीय निकायसँगको सहकार्यमा सञ्चालन गरिने यस योजनाअन्तर्गत स्थानीय निकायमा सुझाव तथा गुनासो–पेटिका स्थापना गरी नागरिकबाट प्रहरीसँग सम्बन्धित सूचना संकलन गर्ने कार्य गरिनेछ।
नेपाल प्रहरीले नागरिकबाट पृष्ठपोषण प्राप्तिका लागि नागरिक सुनुवाइ कार्यक्रम, सुचना अधिकृतको व्यवस्था, सम्पर्क टेलिफोन नम्बर, प्रविधि प्रयोगलगायत विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आइरहेको छ।
स्थानीय निकायसँगको सहकार्य थप दरिलो बनाउँदै दिगो र दीर्घकालीन साझेदारीको संयन्त्र निर्माण, सर्वसाधारणको प्रहरीप्रतिको विश्वासमा अभिवृद्धि, प्रहरी सेवा सञ्चालनमा रहेका त्रुटि, कमीकमजोरी पहिचान गर्दै सो कार्यमा आवश्यकताअनुसार सुधार गरी प्रहरी सेवालाई सुदृढ बनाउने रहेको छ।