विराटनगर– प्रदेश १ मा बुधबारसम्म कोरोना संक्रमितको संख्या ५ हजार १ सय पुगेको छ। वैशाख ४ गते पहिलो पटक प्रदेश १ मा कोरोना संक्रमण देखिएको थियो।
भदौ मसान्तसम्ममा १ लाख १२ हजार ६३ जनाको कोरोना परीक्षण गर्दा ४.५५ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ। संक्रमण देखिएका मध्ये २ हजार १९४ जना डिस्चार्ज भएका छन्। कोरोनामुक्त हुने ४३ प्रतिशत छन्। २ हजार ८ सय ५६ जना अहिले आइसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट ५० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३८ जना प्रदेश १ स्थायी ठेगाना भएका छन्। १२ जना प्रदेश २ का छन्।
मोरङमा संक्रमित बढी
प्रदेश १ मा १४ जिल्ला मध्ये मोरङमा कोरोना संक्रमितको संख्या बढी छ। बुधबारसम्म २ हजार ४१२ जना संक्रमित भएका छन्। संक्रमित मध्ये ९ सय ४ जना डिस्चार्ज भएका छन्। २९ जनाको मृत्यु भएको छ।
सुनसरीमा १ हजार ३४९, झापामा ७५४, उदयपुरमा १२७, इलाममा ९१, संखुवासभामा ७५, धनकुटामा ४७, तेह्रथुम र पाँचथरमा २८–२८, भोजपुरमा २६, खोटाङ र ओखलढुङ्गामा २३–२३, ताप्लेजुङमा १४ र सोलुखुम्वुमा ८ जना संक्रमित भएका छन्।
२१–३० वर्ष उमेर समूहका बढी संक्रमित
प्रदेश १ मा संक्रमण बढी युवा समूहमा देखिएको छ। २१–३० वर्ष उमेर समूहका ३२.२७ प्रतिशत संक्रमित छन्।
३१ देखि ४० वर्ष उमेर समूहका २५.५७ प्रतिशत संक्रमित छन्। कुल संक्रमित मध्ये २१ देखि ४१ बर्ष उमेर समूहका करिव ५८ प्रतिशत संक्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
आज १३३ संक्रमित थपिए
प्रदेश १ मा बुधबार १ सय ३३ जना कोरोना संक्रमित थपिएका छन्। सुनसरीमा ६९, मोरङमा ३४, झापामा २०, भोजपुरमा ५, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा बुधबार ५२ जना डिस्चार्ज भएका छन् । १ हजार २७३ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ३६ महिला र ९७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।