नारायणगढ– नारायणगढ–मुग्लिन सडकखण्डको चार किलो र पाँचकिलोमा बुधबार बिहान खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ। सडकका चार ठाउँमा एकतर्फी सञ्चालनमा रहेका छन् भने अन्य ठाउँ सफा गरिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार बिहान ५ः४५ बजे दुवै ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो। पहिरो पन्छाएसँगै बिहान ११ बजेदेखि सवारी आवागमन शुरु भएको उनले बताए।
सत्रकिलो, सिमलताल, रिग्दीखोला र भालुढुङ्गामा एकतर्फी सडक खुलेको छ। डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार एकतर्फी सडक खुलेका ठाउँमा दुईतर्फी खुलाउने काम सुरु भएको छ। सो सडकखण्डमा सोमबार राति ठाउँठाउँमा पहिरो खसेको थियो। रासस