काठमाडौं– कांग्रेसको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय समन्वय समिति संयोजक (छाया सरकारकी श्रममन्त्री) डा. डिला संग्रौलाले नेपाल फर्कन पर्खिबसेका तीन लाख नेपालीलाई दशैंअघि नै निःशुल्क स्वदेश फर्काउन माग गरेकी छन्।
कोरोनाको कहरले देशभित्रै जनजीवन अस्तव्यस्त बनिरहेको बेला विशेष योजना ल्याएर विदेशमा रहेका नेपालीलाई स्वदेश भित्र्याउन उनले विज्ञप्तिमार्फत माग गरेकी हुन्।
कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी नेतृ संग्रौलाले सरकारले महंगो चार्टर्ड गरेर केही नेपाली स्वदेश फर्काएको भन्दै विज्ञप्तिमा भनेकी छन, ‘मह=गो चार्टर्ड उडान गरेर सरकारले झन्डै ७० हजार नेपालीलाई स्वदेश फर्काएको छ, तर अझै पनि खाडी मुलुकहरू तथा मलेसियामा झन्डै तीन लाख नेपाली स्वदेश फर्कन पर्खिबसेका छन ।’
तीमध्ये हजारौं महिला, बेरोजगार तथा असक्त नेपाली विमानको टिकट किन्न सक्ने स्थितिमा नरहेको पनि उनले उल्लेख गरेकी छिन । ‘सर्वोच्च अदालतको आदेशपछि पनि सरकारले निशुल्क उडान सेवा शुरु गरेको छैन, जुन खेदजनक छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
नेपाल फर्कन चाहने प्रवासी नेपालीलाई स्वदेश फिर्ता ल्याउने काममा सम्बन्धित मुलुकका नेपाली दूतावास, गैरआवासीय नेपाली संघका च्याप्टरहरू र अन्य सामाजिक संस्थालाई उनले सहकार्यका लागि अपिल समेत गरेकी छिन ।
विज्ञप्तिमार्फत प्रधानमन्त्री तथा श्रम मन्त्रीको यस विषयमा पटकपटक ध्यानाकर्षण गराएको उल्लेख गर्दै उनले भनेकी छिन, ‘प्रतिनिधि सभामा हामीले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थियौं ।
पटकपटक यो विषय उठाउँदै आएका थियौं । तर सत्तारुढ दलको आन्तरिक झगडाका बीच संसद बैठक हठात अन्त्य गरेर सरकारले जनताको आवाज मुखरित गर्ने मञ्च पनि बन्द गरिदिएको छ ।’
आफूले मंगलबार परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम मन्त्री रामेश्वरराय यादव र पर्यटन मन्त्री योगेश भट्टराईलाई छुट्टाछुट्टै फोन गरेर विदेशमा अलपत्र नेपालीलाई जतिसक्दो चाडो नेपाल ल्याउन आग्रह गरेको पनि उनले उल्लेख गरेकी छिन ।
मन्त्रीहरूले आस्वासन दिए पनि झन्डै ७ महिनादेखि बेखर्ची भएका नेपाली, घरबाट पैसा मगाएर तथा विभिन्न संघसंस्थाको सहयोगमा गुजारा गरिरहेका देशवासीहरूको स्थितिप्रति सरकार गम्भिर नभएको आरोप उनको छ ।
उनले सरकारसँग पाँच बुदे माग अघि सारेकी छिन ।
मागहरूः
० कोरोना महामारीका कारण काम गुमाएर लामो समयदेखि खानका लागि पनि अरुको राहतको आशामा बसेका श्रमिकहरूको पहिचान गरि तत्काल निशुल्क उद्धार गरियोस् ।
० श्रम स्वीकृति लिएर गएका तर आफ्नो करार अवधि नपुगी कम्पनीले फर्किन वाध्य पारेका र कम्पनीले टिकट नदिएका श्रमिकलाई सर्बोच्चको आदेश अनुसार श्रम कल्याणकारी कोषबाट उद्धार गरियोस् ।
० विदेशमा समस्यामा परि फर्किनै पर्ने अवस्थाका हजारौं श्रमिक दाजुभाइ–दिदिबहिनीलाई दशैं अगावै स्वदेश फर्काइयोस । यसरी फर्काउँदा सके निशुल्क, नसके कम शुल्कको उडानको ब्यबस्था गरियोस । फर्किएका श्रमिकहरूले नै तिर्ने गरि ७ दिनको लागि होटल बुकिङ गर्नुपर्ने निर्णय फिर्ता लिएर होटलमा पैसा तिर्न नसक्ने श्रमिकहरूलाई निशुल्क क्वारेन्टीनको ब्यबस्था गरियोस् ।
० विदेशको बिकासका लागि अनुभव बटुलेका श्रमिकहरूको सीपलाई प्रयोग गरि देश बिकासमा उनीहरूको सहभागिता सहितको रोजगारी र स्वरोजगार ब्यापार–ब्यबसाय गर्नेहरूलाई कम ब्याजदरमा सुलभ ऋण र अनुदानको व्यवस्था गरियोस् ।
० अहिले कोरोना संकटभन्दा पहिले नै निधन भएका नेपालीका शव विदेशमा अलपत्र छन् । उनीहरुको शव यथाशिघ्र नेपाल ल्याएर सम्बन्धित परिवारलाई जिम्मा लगाइयोस् ।