काठमाडौं– कोरोना भाइरसको महामारी र लकडाउनकाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ३०० मिटर विस्तार गरिएको छ।
लकडाउनकैबीच अन्तर्राष्ट्रिय जहाज पार्किङ स्थल, अन्तर्राष्ट्रिय प्रस्थान हल, अन्तर्राष्ट्रिय आगमन र कभर्ड हल निर्माणको काम पनि सम्पन्न भएको हो।
स्तरोन्नति गरिएका भौतिक संरचनाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज उद्घाटन गरेका छन्।
मन्त्री भट्टराईले महामारीकाबीच पनि आयोजनाको निरन्तर अनुगमन, निर्देशनका साथै व्यवस्थापकीय कामको सहजीकरणको परिणाम विमानस्थलको महत्वपूर्ण भौतिक संरचना विस्तारको काम सम्पन्न भएको बताए।
उनले विमानस्थलमा थपिएका नयाँ संरचनाले क्षमता विस्तारका साथै सेवाको अत्याधुनिकीकरण र सुरक्षित, भरपर्दो उडानका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।
‘संरचनाको विस्तारले चाप कम गर्नुका साथै जहाज ‘होल्ड’ हुने अवस्थाको पनि कमी आउँछ,’ उनले भने, ‘विमानस्थलको विद्यमान संरचनाका साथै क्षमता विस्तारका अन्य कामको पनि चाँडै काम थालिने छ।’
समानान्तर ट्याक्सी वे, विमानस्थलको उत्तरतर्फ साना ठूला २४ वटा जहाज अटाउने पार्किङस्थल, आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवैतर्फ नयाँ टर्मिनल भवन, सेवा विस्तार लगायतका कामसहित विमानस्थलको गुरुयोजनाको काम छिट्टै टुङ्गो लगाएर निर्माण प्रारम्भ गरिने पनि मन्त्री भट्टराईले जानकारी गराए।
