वीरगन्जस्थित नारायणी कोभिड अस्पताल गण्डकमा अक्सिजन नपाएर एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालमा उपचाररत किरणदेवी कर्णको मृत्यु भएको हो।
वीरगन्ज महानगरपालिका वडा नम्बर १० की कर्ण भदौ १२ गते कोरोना संक्रमित हुन पुगेकी थिइन्। ५५ वर्षिया कर्ण नेपाल विद्यापिठ स्कुलकी शिक्षिका पनि हुन्।
उपचारको क्रममा उनको आइतबार राति ३ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता एवं चिकित्सक डा. अतुलेश चौरसियाले जानकारी दिए।
परिवारका सदस्यले भने अक्सिजन र पानीसमेत नपाएर कर्णको मृत्यु भएको बताएका छन्। नियमित रुपमा अक्सिजन दिनुपर्नेमा अक्सिजन दिने मान्छे नभएर कर्णको मृत्यु भएको परिवारजनको भनाइ छ। चिकित्सक र व्यवस्थापक पक्षको लापरवाहीले मृत्यु भएको भन्दै उनीहरुले विरोध गरेका थिए।
कर्णसहित पर्सामा ४३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जसमध्ये कोभिड अस्पताल गण्डकमा २१ जना, वीरगन्ज हेल्थ केयरमा १६ जना र बाँकी ६ जनाको नारायणी अस्पताल, नेशनल मेडिकल कलेज र नारायणी व्योधा अस्पतालमा मृत्यु भएको हो।
हाल गण्डक अस्पतालको आईसीयू कक्षमा ६ जना उपचाररत छन्। आईसीयूको सेवा राम्रो नभएको र समयमा पानी र अक्सिजनसमेत नपाएको बिरामीहरुको गुनासो छ।
नेपाल समयमा शनिबारमात्रै गण्डक अस्पतालको आईसीयू कक्षको बेथितिबारे सामग्री प्रकाशित भएको थियो।
