शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • निजगढ विमानस्थल क्षेत्रमा रुख कटानको काम अघि बढाउन निर्देशन

निजगढ विमानस्थल क्षेत्रमा रुख कटानको काम अघि बढाउन निर्देशन

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तरनिकाय समन्वय, सहजीकरण समितिको बैठकले रुख कटानको काम अघि बढाउने निर्णय गरेको छ।
 |  मंगलबार, भदौ २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०७७

काठमाडौं– निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणका लागि अन्तरनिकाय समन्वय, सहजीकरण समितिको बैठकले रुख कटानको काम अघि बढाउने निर्णय गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा मंगलबार बसेको बैठकले नेपाल वन निगम लिमिटेडमार्फत रुख कटानको काम अगाडि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको हो।

हालसम्म विमानस्थलको क्षेत्रमा पर्ने ५७ हजार ३५० रुख गणना कार्य सकिएको छ। बैठकमा आगामी मंसिरभित्र रुख तथा पोलको लगत नम्बरिङकोे कार्य सम्पन्न गर्ने निर्णय भएको छ।

बैठकले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने आयोजनास्थलमा अवस्थित टाँगिया बस्ती स्थानान्तरणका लागि गत माघमा गठित समितिले स्थलगत निरीक्षण गरी वस्ती व्यवस्थापनका लागि स्थानसहितको मोडालिटी तयार गरी १५ दिनभित्र समितिसमक्ष प्रतिवेदन पेश गर्नुपर्ने निर्णय गरेको छ।

बैठकले विमानस्थलको गुरुयोजना निर्माणको खरिद सम्झौता पक्रियाका बाँकी काम हप्ता दिनभित्र सक्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन समेत दिएको छ।

लगानी बोर्डले विमानस्थल निर्माणका लागि छनोट भएको जुरिच इन्टरनेशनल कम्पनीसँग निरन्तर संवाद र पत्राचार गरी सेप्टेम्बर ३० भित्रमा परियोजना प्रस्तावमा अन्तिम निर्णय लिने समेत निर्णय भएको छ।

प्रकाशित: Sep 08, 2020| 16:44 मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्