शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • निजी प्रयोगशालामा कोरोना परीक्षण गरिए पनि बिमा रकम पाइने

निजी प्रयोगशालामा कोरोना परीक्षण गरिए पनि बिमा रकम पाइने

सर्वत्र विरोध भएपछि बिमा समितिले निर्देशन शर्तसहित सच्याएको छ।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

काठमाडौं– निजी प्रयोगशालामा कोरोना परीक्षण गरिए पनि बिमा रकम पाइने भएको छ। 

बिमा समितिले यसअघि निजी प्रयोगशालाको परीक्षणलाई मान्यता दिएको थिएन। सर्वत्र विरोध भएपछि समितिले निर्देशन सर्तसहित सच्याएको छ।

समितिले गत शुक्रबार निजी प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ आए बिमा कम्पनीले भुक्तानी दिनु नपर्ने कम्पनीहरूलाई निर्देशन दिएको थियो।

सरकारी प्रयोगशालाबाट गरिएको परीक्षणमा नेगेटिभ आउने र सोही व्यक्तिले निजी प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको देखिएको भन्दै समितिले निजी प्रयोगशालाको परीक्षणलाई मान्यता नदिने बताएको थियो।

समितिले विज्ञप्ति जारी गरी भुक्तानी गर्नुअघि पीसीआर परीक्षणको अध्ययन गरिने जनाएको छ।

भुक्तानीका लागि समितिको कार्यकारी निर्देशकको संयोजकत्वमा गठित अनुदान व्यवस्थापन समितिले छानविन गर्नुपर्ने र भुक्तानीका लागि मनासिव ठानेमा मात्र भुक्तानी हुने व्यवस्था गर्न बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ।

कोरोना बिमा मापदण्ड, २०७७ को दफा ११ मा बिमा दाबीको लागि सरकारी अस्पतालबाट पीसीआर टेष्ट गर्दा पोजिटिभ आएमा बिमा दाबीयोग्य हुने स्पष्ट व्यवस्था गरिएको र सो मापदण्ड जारी हुँदा सरकारी अस्पतालले मात्र कोरोनाको परीक्षण गर्ने व्यवस्था भएकोले निजी प्रयोगशालामा गरिएको परीक्षण मान्य नहुने व्यवस्था गर्नुपरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा पछिल्लो समय सरकारले पीसीआर परीक्षण निजी प्रयोगशालाले पनि गर्न सक्ने व्यवस्था गरेकोले सोहीअनुसार गर्न समितिले निर्देशन दिएको जनाएको छ।

समितिले भदौ २१ गतेसम्म बिमा कम्पनीमा आएका कोरोना बिमाको दाबी भुक्तानी गर्दा सरकारी अस्पतालमा गरिएको परीक्षणको मात्र भुक्तानी दिए हुने पनि जनाएको छ।

२१ भदौपछि दाबीको भुक्तानी गर्दा भने निजीमा गरिएको परीक्षणको पनि भुक्तानी गर्नुपर्नेछ।

त्यस्तै समितिले कोरोना बिमा मापदण्ड परिमार्जनका लागि समितिको कार्यकारी निर्देशकको संयोजकत्वमा सुझाव समिति गठन गर्ने र समितिको सुझावका आधारमा मापदण्ड परिवर्तन गर्ने पनि जनाएको छ।

त्यस्तै हाल कोरोना बिमा गरेका व्यक्तिको हकमा भने मापदण्ड परिमार्जन नहुन्जेल सरकारी प्रयोगशालामा नै परीक्षण गर्न आग्रह गर्ने पनि जनाएको छ।

नेपालमा हाल करिब ८ लाख ९५ हजार जनाले कोरोना बिमा गरेका छन्। सो अवधिमा १ लाख ५४८ वटा बिमालेख विक्री भएका छन्। ती बिमालेखबाट ५० करोड ३७ लाख ३० हजार रुपैयाँ बिमा शुल्क संकलन भएको बिमा समितिले जनाएको छ।

 

प्रकाशित: Sep 07, 2020| 14:38 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्