काठमाडौं– निजी क्षेत्रका नेतृत्वकर्ताहरूसँग सुझाव र परामर्शका लागि प्रधानमन्त्रीले आइतबार बालुवाटारमा आयोजना गरेको छलफलमा व्यवसायीहरूले उद्योग/व्यापार चलाउने वातावरण बनाउन आग्रह गरेका हुन्।
कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असर र चाल्नुपर्ने कदमका बारेमा छलफल गर्न प्रधानमन्त्रीले उद्योगी/व्यवसायीहरूलाई बालुवाटार बोलाएका थिए।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, राजेशकाजी श्रेष्ठ, सतिश मोर, हरिभक्त शर्मालगायतले सुझाव प्रस्तुत गरेका थिए।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल र निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार पक्षबाट भइरहेका पहलबारे जानकारी गराएका थिए।
उद्योगी व्यवसायीको सुझावपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन बचाउनु अहिलेको प्राथमिकता भएको बताएका थिए। अर्थतन्त्र नकारात्मक अवस्थामा अझै नपुगेको प्रधानमन्त्रीको भनाइ थियो।
प्रधानमन्त्रीले उद्योग/व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ रहेको पनि धारणा राखे।
प्रधानमन्त्री ओलीले जनतालाई भोकै बस्न नदिन सरकार लागिपरेको बताउँदै स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहहरूसमक्ष वास्तविक समस्या राख्नसमेत आह्वान गरे।
‘काम गरेर खान नेपालमा समस्या छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘भौतिक श्रम गर्न विदेश जाने कुरामा अब खासै आकर्षण छैन, युवाहरू यो अवस्था बुझेर देशभित्र क्रियाशील हुनुपर्छ।’
प्रधानमन्त्रीले भने, ‘भारतमा भित्रिने रेमिट्यान्समा नेपालको हिस्सा छैठौं नम्बरमा भएकोले पनि प्रष्ट हुन्छ यहाँ कामको अभाव छैन।’