काठमाडौं– अमेरिकाका वरिष्ठ कोरोना विशेषज्ञ तथा ह्वाइट हाउसका कोरोना भाइरस टास्क फोर्सका सदस्य डा. एन्थोनी फाउचीले यही अक्टोबरसम्ममा कोरोनाको भ्याक्सिन तयार हुने सम्भावना नरहेको बताएका छन्। यद्यपि, यो कुरा असम्भव भने नभएको उनले बताए।
सीएनएनलाई अन्तर्वार्ता दिँदै उनले भनेका छन्, ‘धेरैजसोलाई लागेको छ, नोभेम्बर–डिसेम्बरमा भ्याक्सिन आउँछ।’
अमेरिकामा कोरोनाको भ्याक्सिन बनाउने काम युद्धस्तरमा चलिरहेको छ। तर, अहिलेसम्म सफलता मिलिसकेको छैन। अमेरिकामा तीन वटा कम्पनी भ्याक्सिनका लागि लागिपरेका छन्। उनीहरुले आफ्नो भ्याक्सिनको तेस्रो चरणको परीक्षण सुरु गरेका छन्।
भ्याक्सिन नबने पनि अमेरिकामा यसको वितरणको तयारी सुरु भएको छ। अमेरिकी राज्यहरुमा १ नोभेम्बरबाट कोरोनाको भ्याक्सिन वितरणका लागि तयार रहन निर्देशन पनि दिइएको छ।
ट्रम्प प्रशासनले अमेरिकी राज्यहरुलाई १ नोभेम्बरबाट कोरोना भाइरस भ्याक्सिन वितरणका लागि तयार रहन भनेको हो।
प्रशासनको यही निर्देशनलाई लक्षित गर्दै डा. फाउचीले सीएनएनमा उक्त कुरा बताएका हुन्।
त्यसो त यसलाई कतिपयले राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीति पनि भनेका छन्। अमेरिकामा ३ नोभेम्बरमा राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ र उनी दोस्रो कार्यकालका लागि चुनाव लड्दैछन्।