काठमाडौं– रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपमा पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटपिट गर्ने ९ जना पक्राउ परेका छन्।
महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार ललितपुर महानगरपालिका १६ गाः वहालका ४० वर्षीय महेश बज्राचार्य र ४० वर्षीय रविन शाक्य, वडा नम्बर ११ बंगलामुखीका ३९ वर्षीय पृथविन्दु महर्जन र वडा नम्बर २१ का ३८ वर्षीय अशोजकुमार महर्जन पक्राउ परेका छन्।
त्यस्तै वडा नम्बर ६ का ३६ वर्षीय रवी शाक्य, महालक्ष्मी नगरपालिका १ इमाडोलका ४३ वर्षीय सुविन शाक्य, इमाडोलकै ध्रुवराज बज्राचार्य, भक्तपुरको ठिमीका ३२ वर्षीय श्याम श्रेष्ठ र काठमाडौं महानगरपालिका १६ का ४० वर्षीय यादवलाल कायस्थ पक्राउ परेका छन्।
ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई कुटपिट गर्नेमा संलग्न उनीहरूलाई ललितपुरको विभिन्न स्थानबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए।
पक्राउ गरिएकालाई परिसरको हिरासतमा राखिएको छ। कुटपिटमा अरु पनि सम्लग्न भेटिए पक्राउ गरिने उनले बताए।
पक्राउ परेकाहरुविरुद्ध कुटपिट, निषेध आदेशको उल्लंघन र संक्रामक रोग नियन्त्रणअनुसार कारवाही गर्ने प्रहरीले जनाएको छ।
कुटपिटबाट घाइते घिमिरेको अल्का अस्पतालमा उपचार भइरहेको छ। अरु चार जना प्रहरी पनि घाइते छन्।