जिल्ला प्रशासन कार्यालय ललितपुरले ललितपुर महानगरपालिकाको रिङरोडभित्र शुक्रबारका लागि कर्फ्यू आदेश जारी गरेको छ।
भोलि (शुक्रबार) बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।
बस्नेतका अनुसार कोरोना संक्रमणमा भीडभाड बढेको, धार्मिक सहिष्णुतामाथि आँच पुगेको र संक्रामक रोग बढ्ने खतरा बढेपछि कर्फ्यू जारी गरिएको हो।
आज दिउँसो रातो मच्छिन्द्रनाथको रथ तान्न निस्केको स्थानीयको भीड र प्रहरीबीच झडप भएपछि साँझ बसेको जिल्लाका सुरक्षा अधिकारीहरूको बैठकले उक्त निर्णय गरेको हो।
कर्फ्यू बल्खु पुल, मनहरा पुलदेखि महानगरभित्रको चक्रपथ क्षेत्रमा कायम हुन्छ।
कर्फ्यूको समयमा भेला, जम्मा, जुलुशलगायत गतिविधि हुने छैन। प्रेस, कूटनीतिक नियोग, सरकारी सवारीहरूलाई आवागमनमा बाधा पर्ने छैन।