पर्सा- जिल्ला प्रशासन कार्यालय पर्साले पसल खुल्न पाउने गरी भदौ २५ गतेसम्मका लागि निषेध आदेशलाई निरन्तरता दिने निर्णय गरेको छ।
बिहीबार पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तमाङको अध्यक्षतामा बसेको बैठकले बारअनुसार पसल सञ्चालन गर्ने गरी निषेध आदेश थप्ने निर्णय गरेको हो।
सोमबार, बुधबार र शुक्रबार पूर्वतर्फ र दक्षिणतर्फ फर्केका पसलहरु मात्र सञ्चालन गर्न पाइने र आइतबार, मंगलबार र बिहीबार बजारमा रहेका पसलमध्ये पश्चिमतर्फ र उत्तरतर्फ फर्केका पसलहरु मात्रै खोल्न पाइने निर्णय गरेको जनाएको छ।
यसैगरी तरकारी तथा फलफूलको हकमा रेल्वे रोडमा घण्टाघर चोकदेखि २०० मिटरदेखि दक्षिणतर्फ एकतर्फी रुपमा पसलहरु राखेर कम्तीमा १५ फिटको दूरीमा मात्रै सञ्चालन गर्न पाइने निर्णय गरिएको जिल्ला प्रशासन कार्यलयका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए।
निषेध आदेश अवधिमा आफ्नो पसलमा आउने ग्राहकहरुलाई समाजिक दूरी कायम गर्ने र स्वास्थ्य तथा सुरक्षाको मापदण्ड उल्लंघन भएको पाइएमा सम्बन्धित व्यवसायीलाई नै कारबाही गर्ने निर्णयसमेत भएको हो।
पसलहरुको हकमा भने ११ बजेदेखि दिउँसो ४ बजेसम्म र तरकारी तथा फलफूलको हकमा भने बिहान ५ बजेदेखि ८ बजेसम्म मात्रै सञ्चानल गर्नुपर्ने निर्णय भएको छ।
निषेध आदेश सामान्य खुकुलो पारे पनि जिल्लाभित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रु, शैक्षिक संस्था, चिया तथा खाजा घर लागतयको सञ्चन गर्न नपाइने जनाएको छ।