काठमाडौं – बिमा समितिका कर्मचारीहरू जबरजस्ती सरुवा गरिएको भन्दै रुष्ट भएका छन्।
कर्मचारी युनियनले बिमा समितिका अध्यक्ष चिरिञ्जीवी चापागाईंले कोरोना महामारीका बेला घरबाटै काम गरिरहेका कर्मचारीलाई बिना कारण विभेदपूर्ण तरिकाले सरुवा गरेको आरोप लगाएको छ।
एक वर्षभित्रमै कर्मचारीलाई पटकपटक सरुवा गर्ने गरेको आरोप युनियनको छ। आफू निकट नभएका कर्मचारीलाई सरुवा गरेर दुःख दिएको भन्दै तत्काल यस्तो काम बन्द गर्न युनियनले गरेको छ ।
युनियनले विज्ञप्तिमार्फत भनेको छ, “समितिले कर्मचारीलाई काम गर्न उत्साहित गर्नुपर्नेमा कोरोनाको समयमा घरबाटै काम गरिरहेका कर्मचारीलाई अध्यक्षको स्वार्थ नमिलेका कारण सरुवा गर्दा समितिको उद्देश्य प्राप्तिमा असर पर्ने ठहर छ।”
कर्मचारी सरुवा गर्दा आधिकारिक युनियनसँग सहकार्य नगरेको तथा कर्मचारी सेवा सर्त विनियावली २०७८ को विनियम ४८ बमोजिम सरुवा नीति बनाई सरुवा गर्नुपर्नेमा अहिलेसम्म सरुवा नीति नभएको भन्दै सरुवा नीति बनाएर सोहीअनुसार कर्मचारीको सरुवा गर्न युनियनले आग्रह गरेको छ।
विज्ञप्तिमा कर्मचारीहरु पूर्णबहादुर थापा, शम्भुप्रसाद मिश्र, कुन्दन सापकोटा, केशवप्रसाद दाहाल, ओमबहादुर अधिकारीलाई पटकपटक सरुवा गरिएको उल्लेख छ।
बिमा समितिका प्रवक्ता कार्यकारी निर्देशक राजुरमण पौडेलले कर्मचारीलाई नियमित प्रक्रियाअनुसार सरुवा गरेको बताए।