काठमाडौं- तनहुँबाट आएर काठमाडौंका विभिन्न विश्वविद्यालयका क्याम्पस र केन्द्रीय विभागहरुमा अध्यापन गर्ने नेपाली कांग्रेसमा आस्थावान् प्रजातन्त्रवादी प्राध्यापकहरुले नेपालको वर्तमान राजनीति र प्रजातन्त्रको अवस्थाबारे भर्चुअल माध्यमबाट छलफल गरेका छन्।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रम संयोजन प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालका अध्यक्ष सहप्राध्यापक जगत तिमिल्सिनाले गरेका थिए।
कार्यक्रममा वक्ताहरुले नेपालको राजनीति र लोकतन्त्र सुदृढीकरणमा कांग्रेसको भूमिका, कांग्रेसको वैचारिक र सांगठनिक पक्ष एवम् तनहुँमा रहेका विकास निर्माणका विभिन्न सम्भावनाबारे विचार व्यक्त गरेका थिए।
कांग्रेस नेता भण्डारीले नेकपाले झन्डै दुई तिहाइ बहुमत प्राप्त गरे पनि मुलुकमा राजनीतिक स्थिरता हुन नसकेको बताए।
मुलुक सञ्चालन गर्ने विचार, नीति निर्माण तह र प्रशासनमा वैदेशिक प्रभाव रहुन्जेल मुलुकमा परिवर्तन सम्भव नरहेको उनको भनाइ थियो।
भण्डारीले नेपालको पहिचान कायमै राख्न पनि नेपाली कांग्रेसको विचारमाथि विमर्श केन्द्रित हुनुपर्नेमा जोड दिए।
विदेशीबाट प्रायोजित एजेन्डा बोक्ने नेतालाई युवाहरुले साथ दिन नहुने उनले स्पष्ट पारे।
तनहुँ धेरै सम्भावना बोकेको जिल्ला भएकाले प्राज्ञिक क्षेत्रमा कार्यरतले त्यसबारे अध्ययनअनुसन्धान गरी सम्बन्धित ठाउँमा सुझाव दिन उनले आग्रह गरे।
कार्यक्रममा बोल्दै प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालका अध्यक्ष तिमिल्सिनाले मुलुक, लोकतन्त्र, विश्वविद्यालय र बौद्धिक विमर्शमा प्राध्यापक संघमा आबद्ध व्यक्तिहरुको विज्ञताको सदुपयोग हुनुपर्ने बताए।
कांग्रेस कमजोर भएमा लोकतन्त्र कमजोर हुने भएकाले लोकतन्त्रमा आस्था राख्ने प्राध्यापकहरुले यसमा सशक्त र व्यावहारिक विचार दिन सक्नुपर्ने उनको भनाइ थियो।
पाटन संयुक्त क्याम्पसका प्राध्यापक गोवर्धन रानाले कांग्रेसको लोकतान्त्रिक समाजवादका विभिन्न पक्षबारे युवापुस्तालाई जानकारी दिनुपर्ने र राजनीतिलाई विचार निर्देशित बनाउनुपर्नेमा जोड दिए। यस्ता संवादले निरन्तरता पाउनुपर्ने रानाको विचार थियो।
त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्वसदस्य एवं त्रिवि रसायनशास्त्र केन्द्रीय विभागका प्राध्यापक डा. केदारनाथ घिमिरेले कांग्रेसले सैद्धान्तिक पक्षका साथै सांगठनिक र व्यावहारिक पक्षलाई पनि उत्तिकै ध्यान दिनुपर्ने राय व्यक्त गरे।
त्यस्तै नेपाल ल क्याम्पसका प्राध्यापक रमेश प्रधानले लोकतन्त्र देश सबल बनाउन आत्मनिर्भरता, सिँचाइ, साना जलविद्युत् आयोजना, धार्मिक पर्यटन र राष्ट्रियताको सबलीकरणमा ध्यान पुर्याउनुपर्नेमा जोड दिए।
प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालका केन्द्रीय उपाध्यक्ष वाल्मीकि विद्यापीठका सहप्राध्यापक कृष्णकान्त पराजुलीले प्राध्यापन सेवामा लागेकाहरुले नेपाली कांग्रेस पार्टीबाट व्यक्तिगत रुपमा केही आस नगरे पनि लोकतन्त्र सबल बनाउन आफूहरु कांग्रेसलाई योगदान दिन तयार रहेको बताए।
कार्यक्रममा काठमाडौं विश्वविद्यालयको नेसनल कलेजमा प्राध्यापनरत शिवप्रसाद तिवारीले नेपाली कांग्रेस, लोकतन्त्र र यसको अन्तर्राष्ट्रिय आयामबारे चर्चा गरेका थिए।
यस्तै द्वन्द्व, शान्ति र विकास अध्ययन विभाग, त्रिविका विभागीय प्रमुख उपप्राध्यापक पीताम्बर भण्डारीले कांग्रेसको आन्तरिक चुनौती र वैचारिक समस्याबारे धारणा राखेका थिए।
नेपाल अर्थशास्त्र शिक्षक समाजका केन्द्रीय अध्यक्ष नवीन खनालले कांग्रेसका सांगठनिक पक्ष र समस्या तथा शारदा माविका प्रधानाध्यापक ठाकुरप्रसाद सिग्देलले कांग्रेसको नेतृत्वका बारेमा आ–आफ्ना विचार व्यक्त गरेका थिए।
प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालका केन्द्रीय सदस्य एवम् पद्मकन्या क्याम्पसका सहायक क्याम्पस प्रमुख उपप्राध्यापक राजु मल्लले सञ्चालन गरेको कार्यक्रममा तनहुँ–काठमाडौं इन्टुलेक्चुअल सोसाइटीकी कोषाध्यक्ष एवम् सरस्वती क्याम्पसकी उपप्राध्यापक नानु देवकोटाले सहभागीहरुलाई धन्यवाद दिएकी थिइन्।