काठमाडौं– कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि उपत्यकाका तीनवटै जिल्लाहरुमा एक हप्ता निषेध आदेश थप गरिएको छ। तेस्रो चरणमा थपिएको निषेध आदेश भने केही खुकुलो पारिएको छ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले २४ भदौ मध्यरात १२ बजेसम्मका लागि निषेध आदेश जारी गरेका हुन्। तेस्रो चरणको निषेध आदेशमा खाद्यवस्तु, दूध र दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु बिक्री गर्ने पसलहरु बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ। त्यस्तै अत्यावश्यक वस्तु वा सेवामध्ये औषधी, पानी मात्र वितरण गर्ने र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि निर्वाध रुपमा सञ्चालन गर्न सकिने भएको छ।
उपत्यकाभित्र विकास निर्माणसँग सम्बन्धित पसल व्यवसाय साथै सोको ढुवानीका लागि प्रयोग हुने सवारी साधन दिउँसो २ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन गर्न मिल्ने तर नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्नेछ।
निषेध आदेशमा टेक अवे र उपभोग्य वस्तुको होम डेलिभरी सेवा खुला गर्ने तर व्यक्तिको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्नेछ र उनीहरुले भेटेका व्यक्तिहरुको अभिलेख राख्नुपर्नेछ। राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको निर्माणको काम पनि सञ्चालन गर्न पाइने र उनीहरुले कामदार र कर्मचारीलाई आयोजनास्थलमै क्वारेन्टिनमा राख्नुपर्नेछ। त्यस्तै अत्यावश्यक कामका लागि उपत्यका प्रवेशका लागि अनिवार्य पीसीआर रिपोर्टमा नेगेटिभ भएको हुनुपर्ने छ।
हवाई उडानबाट विदेश जानेहरुले पासपोर्ट, भिसा, स्वीकृत हवाई टिकट हुनेहरु सिधै एयरपोर्ट जाने सवारी साधनलाई पनि चल्न दिनेछ। तर पीसीआर परीक्षण सुविधा नभएको ठाउँबाट आउनेहरुले भने काठमाडौंमा सुरक्षित रुपमा बस्ने स्थानको सुनिश्चितता र सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस अनिवार्य पेश गर्नुपर्नेछ।
निषेध आदेशमा अत्यावश्य सेवा सञ्चालन गर्ने बाहेकका कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन पाउने छैनन्। ती कामका लागिसमेत १२ वर्ष मुनिका बालबालिका, ६० वर्ष माथिका जेष्ठ नागरिकहरु एवम् दिर्घ रोग भएका जुनसुकै उमेरका मानिसहरु घरबाट बाहिर निस्कन नपाइने, जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न पनि रोक लगाइएको छ।
संक्रमण रोकथाम, नियन्त्रण, उपचार लगायतमा खटिने र अत्यावश्यक सेवा भनि नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउने कर्मचारीहरुको हकमा कार्यालयले न्यूनतम कर्मचारी निर्धारण गरेर कार्यालयले जारी गरेको फोटोसहितको परिचय पत्रको आधारमा सञ्चालन हुने बाहेकका सवारी साधन सञ्चालन गर्न पाइने छैन। त्यस्तै मेला, महोत्सव, सभा, सम्मेलन, गोष्ठि सेमिनार, होटल रेष्टुँरासमेत सञ्चालनमा रोक लगाइएको छ।