काठमाडौं– निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीको ठेकेदार कम्पनीले सम्झौताबमोजिम समयमा मल आयात नगर्दा देशभरका किसान मर्कामा परेका छन्। अहिले धानमा मल हाल्ने सिजन हो।
सम्झौताअनुसार अधिकारीको सैलुङ इन्टरप्राइजेजले भदौ २० गतेभित्र २५ हजार मेट्रिक टन मल ल्याइसक्नुपर्नेछ। सम्झौताको म्याद सकिन तीन दिन बाँकी छ।
उक्त कम्पनीले मल आयात प्रक्रियाबारे कृषि सामग्री कम्पनीलाई बुधबारसम्म कुनै जानकारी गराएको छैन।
अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटी हुन्। नगरकोट–भक्तपुर सडक ठेक्का लिएको समयभित्रै पूरा गर्न नसक्दा उनको तस्बिर सार्वजनिक ठाउँमा टाँसेर विरोध गरिएको थियो।
शक्तिको आडमा मल ल्याउने ठेक्का पाएको सैलुङले सम्झौताबमोजिम मल ल्याउन आलटाल गरिरहेको कृषि सामग्री कम्पनी लिमिटेडका एक उच्च अधिकारीले बताए।
यस्तै अर्को ठेकेदार कम्पनी होलिको मल्टिपल प्रालिले पनि समयमै मल ल्याउन नसक्ने भएको छ। यसका सञ्चालक हुमानाथ कोइराला हुन्।
दुई कम्पनीले भदौ २० गतेभित्र २५–२५ हजार टन रासायनिक मल ल्याइसक्नुपर्ने सम्झौता छ।
सैलुङले असार १८ गते कृषि सामग्री कम्पनीसँग ३० हजार मेट्रिक टन युरिया मल आयातका लागि सम्झौता गरेको थियो। त्यसपछि उक्त कम्पनीले दुई पटक गरी २५–१५ हजार मेट्रिक टन मल ल्याउने ठेक्का सम्झौता गरेको छ।
दुवै कम्पनीले अहिलेसम्म मल ल्याउने प्रक्रियाबारे कुनै जानकारी नदिएको कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णुप्रसाद पोखरेल बताए।
उनले भने, ‘हामीले उनीहरुलाई मल कहिले ल्याउने भनेर सोध्दा प्रक्रियामा छौं मात्र भनेका छन्। थप जानकारी केही दिएका छैनन्।’ पहिलो ठेक्काको समय भदौ २० मा सकिँदै छ।’
कृषिमन्त्री घनश्याम भुसालले सम्झौताअनुसार समयमै मल आयात नगर्ने ठेकेदारमाथि कस्तो कारबाही हुन्छ भन्नेबारे केही बताएनन्।
मल आयातमा भइरहेको ढिलाइका सम्बन्धमा राखिएको जिज्ञासाको उत्तर नदिएर मन्त्री भुसाल पन्छिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बंगलादेशकी प्रधानमन्त्री सेख हसिनालाई फोन गरी ५० हजार टन युरिया मल पैंचो मागेका थिए। त्यहाँबाट मल आपूर्ति कहिलेसम्म हुने टुंगो लागेको छैन।
‘नेपालमा तत्काल मल उत्पादन सम्भव छैन’
कृषिमन्त्री घनश्याम भुसालले भारत, बंगलादेश र चीनसँगको संयुक्त लगानीमा स्वदेशमा रासायनिक मल कारखाना खोल्न सम्भव नभएको बताएका छन्।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले रासायनिक मल अभाव सदाका लागि अन्त्य गर्न स्वदेशमै कारखाना खोल्नुपर्ने सुझाव बुधबार ट्विटमार्फत दिएका थिए।
सोही सुझावबारे राखिएको जिज्ञासामा मन्त्री भुसालले भने, ‘मैले नेपालमै मल कारखाना खोल्ने विषयमा मन्त्रालयमा आउनेबित्तिकै चासो राखेको हुँ। त्यसका लागि आवश्यक प्राकृतिक ग्यासको पाइप भारतको गोरखपुर आउन अझै करिब दुई वर्ष लाग्ने रहेछ।’
उनले प्राकृतिक ग्यासको पाइप नेपाल ल्याएपछि मात्र स्वदेशमै मल कारखाना खोल्न सकिने बताए।
मन्त्री भुसालले खाडी मुलुकसँग सम्झौता गरेर सीधै आयात गर्ने, भारतसँग द्विपक्षीय सम्झौता गर्ने र प्रांगारिक मल प्रवर्धन गर्ने विषयमा भने छलफल गर्न सकिने बताए।