शुक्रबार, भदौ १२, २०८३

व्यवसायीसँग रकम असुल्ने एक भारतीयसहित पाँच पक्राउ

विराटनगरका व्यवसायीलाई धम्क्याउँदै रकम असुल्ने गिरोहका पाँच जना पक्राउ परेका छन्।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

विराटनगर– विराटनगरका व्यवसायीलाई धम्क्याउँदै रकम असुल्ने गिरोहका पाँच जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा एक जना भारतीय छन्। मोरङ प्रहरीका अनुसार उनी बिहार सीतामडी घर भई विराटनगर महानगरपालिका–८ मा बस्दै आएका २७ वर्षीय राजु साह हुन्।

पक्राउ पर्ने अन्यमा मोरङको कटहरी गाउँपालिका–२ आदर्श नगरका २६ वर्षीय किसन साह, २८ वर्षीय एलेक्स भनिने रविन शर्मा, २७ वर्षीय अभिषेक राय र सप्तरीको बोदेवसाइन नगरपालिका–८ घर भई विराटनगर–३ मा डेरा बस्ने २७ वर्षीय नन्दु भनिने नन्दकिशोर साह छन्।

विराटनगरको जलजलाचोकस्थित चाइना बजारमा कपडा बेच्दै आएका भारतीय नागरिक राजुलाई विराटनगर–८ कै रेन्बो गल्लीबाट पक्राउ गरिएको हो।

त्यस्तै किसनलाई विराटनगर–८ देवकोटा चोक, रविनलाई घरबाटै, नन्दकिशोर र अभिषेकलाई कञ्चनबारीस्थित नन्दकिशोरको डेराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले संगठित रुपमा आपराधिक समूह स्थापना गरेर हतियार देखाउँदै ज्यान मार्ने धम्की दिएर व्यापारीसँग पैसा असुल्ने गरेको पाइएपछि पाँचै जनालाई पक्राउ गरिएको जानकारी दिए।

एसपी खड्काले गिरोहका मुख्य नाइके अभिषेक रहेको र हतियार देखाउँदै त्रसित बनाएर व्यापारीसँग रकम असुल्ने धन्दा उनकै योजनामा चलाइएको बताए।

प्रहरीले एलेक्स भनिने रविनको घरबाट एउटा पेस्तोल र तीन राउन्ड गोली बरामद गरेको छ।

प्रहरीले धम्की खेपेका र गिरोहलाई रकम बुझाउन बाध्य भएका व्यापारीको पहिचान भने गोप्य राखेको छ।

नन्दकिशोरको डेराबाट भारतीय र नेपाली रुपैयाँ गरेर ९७ हजार एक सय २० रुपैयाँ बरामद भएको छ। जसमा ४९ हजार चार सय ५० भारतीय रुपैयाँ रहेको एसपी खड्काले बताए।

प्रहरीले विभिन्न कम्पनीका १६ थान मोबाइल, कोटाक महिन्द्र नामको भारतीय बैंकको चेक, रकम असुल्न प्रयोग गरिने को ३२ प ७५२५, को १५ प २३१५ र को ३६ प २७६२ नम्बरको मोटरसाइकल र एउटा चक्कु नियन्त्रणमा लिएको छ।

एसपी खड्काका अनुसार हतियार देखाएर धम्क्याउने समूहले गत असार २५ गते विराटनगरका एक जना व्यापारीसँग १० लाख रुपैयाँ मागेको खुलेको छ। त्यसपछि पनि पटक–पटक धम्क्याउँदै फेरि १० लाख मागेको पाइएको उनको भनाइ छ।

प्रहरीले पक्राउ परेका पाँच जना र उनीहरुबाट बरामद गरिएको हतियार, नगद लगायतका सामान बुधबार पत्रकार सम्मेलन आयोजना गरेर सार्वजनिक गरेको छ।

उनीहरुविरुद्ध हातहतियार खरखजना, अपराधिक लाभ र चोरी तथा संगठित अपराधमा मुद्दा चलाउन बुधबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी एसपी खड्काले दिए।

प्रकाशित: Sep 02, 2020| 17:22 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।