काठमाडौं- पछिल्लो दुई हप्तामा वाणिज्य बैंकहरुको कर्जा निक्षेपको तुलनामा १३३.३३ प्रतिशतले बढेको छ।
वाणिज्य बैंकहरुसँग तरलता पर्याप्त हुँदा उनीहरुले निक्षेप र कर्जा दुवैको ब्याजदर घटाए।
जसका कारण कर्जा लिनेहरु बढे भने निक्षेप राख्नेहरुले थोरै ब्याज पाउने भएकोले निक्षेप अन्यत्र नै लगेको नेपाल बैंकर्स संघको निष्कर्ष रहेको छ।
बैंकर्स संघका प्रमुख अनिल शर्माका अनुसार दुई हप्तामा वाणिज्य बैंकहरुको निक्षेप जम्मा ६ अर्ब रुपैयाँले बढेको छ भने कर्जा १४ अर्ब रुपैयाँले बढेको छ।
‘वाणिज्य बैंकहरुले पर्याप्त तरलता हुँदा विभिन्न कर्जाका स्कीमहरु बजारमा ल्याए जसले कर्जाको माग बढ्यो तर बचतमा नै ६ प्रतिशत भन्दा कम व्याज दिन थालेपछि निक्षेपकर्ताहरुले आफ्नो निक्षेप बढी व्याज पाउने सहकारीमा जम्मा गर्न थाले पनि कर्जाको तुलनामा निक्षेपमा कमी आएको हो।’ शर्माले भने।
बैंकर्स संघका अनुसार साउन मसान्तसम्ममा वाणिज्य बैंकहरुको निक्षेप ३४ खर्ब ७९ अर्ब रुपैयाँ थियो भने भदौ १२ गतेसम्ममा वाणिज्य बैंकहरुको निक्षेप ६ अर्बले बढेर ३४ खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ।
तर कर्जा भने साउनको अन्तिम साता २८ खर्ब ७८ अर्ब रुपैयाँ रहेकोमा गत भदौ १२ गतेसम्ममा कर्जा २८ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ।