काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आयात कम र निर्यात बढी हुँदा व्यापार घाटा २२.१७ प्रतिशतले घटेको छ।
साउनमा व्यापार घाटा ७६ अर्ब १८ करोड ७९ लाख ४० हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही महिनामा व्यापार घाटा ९७ अर्ब ८८ करोड ८२ लाख ३२ हजार रुपैयाँ थियो।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा आयात १९.६० प्रतिशतले घटेको छ।
साउनमा आयात ८५ अर्ब ८० करोड ७८ लाख ८९ हजार भएको छ। गत वर्षको सोही महिनामा आयात एक खर्ब ६ अर्ब ७२ करोड ५३ लाख १८ हजार रुपैयाँ भएको थियो।
त्यस्तै निर्यात भने यस अवधिमा ८.८६ प्रतिशतले बढेर ९ अर्ब ६२ करोड ४९ हजार रुपैयाँ निर्यात भएको छ। गत वर्षको सोही महिनामा ८ अर्ब ८३ करोड ७० लाख ८६ हजार रुपैयाँ निर्यात भएको थियो।