काठमाडौं– कोभिड–१९ का कारण विद्युतीय कारोबारमा उच्च वृद्धि भएको छ। सरकारले संक्रमण रोक्नका लागि गत चैत ११ गतेदेखि साउन ७ गतेसम्म देशैभर लकडाउन गरेको थियो।
सो समयमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई घरबाट नै ग्राहकलाई सेवा दिन निर्देशन दिएको थियो। बैंक तथा वित्तीय संस्थाहरुले पनि राष्ट्र बैंकको निर्देशन मानेर ग्राहकहरुलाई विद्युतीय कारोबारमा जोड दिएका थिए।
कतिपय बैंकहरुले त आफ्ना ग्राहकलाई फोन गरेर नै विद्युतीय कारोबारको लागि आग्रह गरेका थिए। लकडाउनको समयमा बैंकहरुले विद्युतीय कारोबारको सेवा बिनाशुल्क दिएका थिए।
गत चैतमा ९ खर्ब १५ अर्ब ७ करोड ६२ लाख रुपैयाँको विद्युतीय कारोबार भएकोमा असारमा ३ खर्ब ५० अर्ब ८८ करोड ४४ लाख रुपैयाँले बढेर १२ खर्ब ६५ अर्ब ९६ करोड ६ लाख रुपैयाँ पुगेको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैशाख, जेठ र असार महिनामा विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि भएको छ। गत चैतमा भन्दा असार महिनामा विद्युतीय कारोबार ३८.३४ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ।
लकडाउनको समयमा सबैभन्दा बढी आरटिजिएस (सोही समयमा हुने सेटलमेन्ट)को कारोबार अत्यधिक भएको छ। गत असारमा आरटिजिएस मार्फत ११ खर्र्ब ४६ अर्ब ३२ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
आरटिजिएसको कारोबार धेरै हुनुमा बैंकहरुले सो कारोबारको शुल्क लिएनन् भने कम्तमिा २ लाखभन्दा बढीको कारोबार आरटिजिएसबाट गर्नुपर्ने प्रावधानका कारण पनि यो कारोबारमा उल्लेख्य वृद्धि भएको हो।
अर्कोतर्फ असार मसान्तसम्ममा सरकारलाई तिर्नुपर्ने कर विभिन्न व्यापारी व्यवसायीहरुले आरटिजिएसको माध्यमबाट नै तिरेकोले पनि वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ। जेठ महिनामा भने आरटिजिएस मार्फत १० खर्ब २५ अर्ब ११ करोड १२ लाख रुपैयाँको कारोबार भएको थियो।
राष्ट्र बैंक अनुसार गत असारमा एटीएमबाट ६३ लाख २ हजार ८४६ पटक ५ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ झिकिएको छ। त्यस्तै मोबाइल बैंकिङ प्रयोग गरी ग्राहकले ५८ लाख १७ हजार ६८१ पटकमा १ अर्ब ८८ करोड ३९ लाख रुपैयाँको कारोबार गरेका छन्।
त्यस्तै इन्टरनेट प्रयोग गरी १ अर्ब ९० करोड ४८ लाख, डेविट कार्डबाट २ अर्ब ५८ करोड ९४ लाख, क्रेडिट कार्डबाट ५ करोड ८४ लाख प्रिपेड कार्डबाट ३६ लाख, इसिसि ७ अर्ब ९२ करोड ७ लाख रुपैयाँको कारोबार भएको छ।
आइपिएसबाट २२ अर्ब ३६ करोड ५१ लाख, कनेक्ट आइपीएसबाट ५ अर्ब १३ करोड ६ लाख, वालेट मार्फत १ अर्ब २ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

