भैरहवा– आर्थिक अभावका कारण छोराको उपचार हुन नसक्दा सहयोगको याचना गरिरहेका कर्णबहादुर पुनलाई भैरहवाका सामाजिक व्यक्तित्व तथा संघसंस्थाले सहयोग गरेका छन्।
दुवै खुट्टा भाँच्चिएर अस्पतालको बेडमा रहेका जीवन पुनको उपचारको सबै खर्च लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष नेत्रप्रसाद आचार्यको समूहले व्यहोर्ने प्रतिबद्धता व्यक्त गरेको हो।
जीवनको उपचारका लागि पहिलो चरणमा लायन्स क्लब अफ सिद्धार्थनगरले ५१ हजार, लायन्स क्लब अफ सिद्धार्थनगर लोटसले ३५ हजार, लायन्स क्लब अफ टुलिपले ३५ हजार रुपैयाँ सहयोग गरेका छन्। योसहित अन्य संघसंस्थाबाट प्राप्त २ लाख ७० हजार रुपैयाँ जीवनका बुबा कर्णबहादुरलाई हस्तान्तरण गरिएको छ।
सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिवसमेत रहेका आचार्यले भने, ‘पैसाको अभावका कारण जीवन भाइको उपचारमा समस्या आएको समाचार पढेपछि हामीले सहयोग जुटाएका हौं। अस्पतालमा लाग्ने सबै खर्च हामी वेहोर्छौं।’
छोराको उपचारका लागि सहयोग जुटेपछि बुबा कर्णबहादुरले खुसी व्यक्त गर्दै पैसाको अभावमा छोरालाई बचाउन सकिन्न कि भन्ने चिन्ता हटेको बताए।
छोराका दुवै खुट्टा भाँचिएपछि उपचारका लागि सहयोग माग्दै कर्णबहादुर शीर्षकमा हिजो साेमबार नेपाल समयमा समाचार प्रकाशित भएको थियो। समाचार प्रकाशन भएपछि नै जीवनको उपचारका लागि सहयोग जुटेको हो।
