काठमाडौं– गएको असारमा १ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार मासिक रेमिट्यान्स आप्रवाहमा यो रकम अहिलेसम्मकै बढी हो।
कोभिड–१९ का कारण रेमिट्यान्स आप्रवाहमा कम्तीमा १० प्रतिशतले कमी आउने अनुमान राष्ट्र बैंकले गरेको थियो। तर, त्यसविपरीत असार महिनामा अहिलेसम्मकै सबैभन्दा बढी रेमिट्यान्स भित्रिएको छ। ‘कोभिडमा कारण रेमिट्यान्स निकै असर पर्ने विश्लेषण गरेका थियौं। तर, त्यसको विपरीत असार महिनामा अघिल्लो आर्थिक वर्षको भन्दा पनि बढी आयो,’ राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले भने।
उनका अनुसार ०७६ असारमा भन्दा ०७७ असारमा २० अर्ब रुपैयाँ बढी रेमिट्यान्स भित्रिएको छ। ०७६ असारमा ८० अर्ब २५ करोड रुपैयाँ भित्रिएकोमा यस वर्षको असारमा यो आँकडा १ खर्ब १६ अर्ब पुगेको छ।
रेमिट्यान्ससम्बन्धी अध्ययन गर्ने विभिन्न संघ–संस्थाहरुले कोरोनाका कारण रेमिट्यान्स आप्रवाहमा ४० प्रतिशतसम्म असर पर्ने बताउँदै आएका थिए। विश्व बैंकले पनि रेमिट्यान्समा २० प्रतिशत असर पर्ने प्रतिवेदन सार्वजनिक गरेको थियो।
वार्षिक तथ्यांक हेर्ने हो भने पनि गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा ०.५ प्रतिशतले मात्र कमी आएको छ। अघिल्लो आर्थिक वर्षमा ८ खर्ब ७९ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा गत आर्थिक वर्षमा ८ खर्ब ७५ अर्ब रुपैयाँ भित्रिएको तथ्यांक छ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा ७ खर्ब ७४ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो। एक महिनामा एक खर्ब एक अर्ब थपिएपछि ८ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ।
कोभिड–१९ महामारीका कारण विश्व श्रम बजार प्रभावित भएपछि रेमिट्यान्स घट्ने अनुमान गरिएको थियो। कोरोना संक्रमण रोक्न नेपाललगायत विश्वका धेरै देशमा लकडाउन भएको समय चैतमा भने सबैभन्दा कम ३४ अर्ब ४८ करोड रेमिट्यान्स नेपाल भित्रिएको थियो। अवस्था सामान्य हुन थालेपछि वैशाखदेखि सुधार हुँदै असारमा हालसम्मकै बढी रेमिट्यान्स भित्रिएको हो।
कोभिड–१९ महामारीका कारण हुण्डीलगायत अनौपचारिक च्यानल बन्द भएपछि बैंकिङ च्यानलबाट भित्रने रेमिट्यान्स बढेको राष्ट्र बैंकका अधिकारीहरुको अनुमान छ। यसैगरी लकडाउनका कारण कामदारहरुले लामो समय रकम पठाउन नपाएका कारण पनि असारमा ह्वात्तै बढेको हुन सक्छ।
यसबाहेक विदेशमा रोजगारी गुमाएर फर्किएका र फर्किने तयारीमा रहेका कामदारले एकमुष्ट रकम पठाएकाले पनि रेमिट्यान्स वृद्धि भएको हुन सक्ने अनुमान राष्ट्र बैंकले गरेको छ। यद्यपि, अध्ययन नगरी यसै हो भन्न नसकिने प्रवक्ता भट्टले बताए।
रेमिट्यान्समा भएको वृद्धि र आयातमा भएको गिरावटका कारण विदेशी विनिमय सञ्चिति ३४.९ प्रतिशतले वृद्धि भई ०७७ असार मसान्तमा १४ खर्ब ०१ अर्ब ८४ करोड पुगेको छ। यसले कम्तीमा एक वर्षको खाद्यान्न आयात गर्न पुग्ने राष्ट्र बैंकले जनाएको छ।
अर्थविद् डिल्लीराज खनालका अनुसार अमेरिकी डलर बलियो हुनु र हुन्डीमा आएको कमीका कारण रेमिट्यान्स आप्रवाहमा वद्धि भएको हो। 'कोरोना सुरु हुनुअघि नेपाल आउने रेमिट्यान्सको करिब ३४ प्रतिशत हुन्डीको माध्यमबाट भित्रिने गरेको थियो। तर कोरोनाका कारण विदेशमा काम गर्ने मानिसहरुले एकले अर्कोलाई भेट्न नपाउने र हुन्डीको कारोबार पूर्ण रुपमा ठप्प हुँदा रेमिट्यान्सको फ्लो बढेको हो,' खनालले भने।
उनले रेमिट्यान्स बढ्दा त्यसको प्रत्यक्ष प्रभाव बैंकिङ क्षेत्रमा पर्ने बताए। रेमिट्यान्स बढ्दा बैंकिङ क्षेत्रमा निक्षेप बढ्ने तर कोरोनाका कारण सम्पूर्ण व्यापार व्यवसाय ठप्प हुँदा बैंकहरुको कर्जाको मागमा कमी आउने र त्यसको असर समग्र अर्थतन्त्रमा पर्ने उनको भनाइ छ।
