बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कोरोनाका कारण आयात घट्दा विदेशी मुद्रा सञ्चिती बढ्यो, शोधानान्तर पनि बचतमा

कोरोनाका कारण आयात घट्दा विदेशी मुद्रा सञ्चिती बढ्यो, शोधानान्तर पनि बचतमा

कोरोना भाइरसको महामारीले आर्थिक क्रियाकलाप प्रभावित भई आयात घटेपछि विदेशी विनियम सञ्चिति बढेको छ।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

काठमाडौं– कोरोना भाइरसको महामारीले आर्थिक क्रियाकलाप प्रभावित भई आयात घटेपछि विदेशी विनियम सञ्चिति बढेको छ।

नेपाल राष्ट्र बैंकले आज सोमबार प्रकाशित गरेको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार २०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३४.९ प्रतिशतले वृद्धि भई २०७७ असार मसान्तमा १४ खर्व ०१ अर्ब ८४ करोड पुगेको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड पुगेको छ।

कोभिड–१९का कारण आयात घटे पनि रेमिट्यान्स आयमा खासै प्रभाव नपरेकाले विदेशी मुद्रा सञ्चिती बढ्नुका साथै शोधानान्तर पनि बचतमा गएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७६–७७ को शोधानान्तर २ खर्ब ८२ अर्ब रुपैयाँले बचत भएको छ। अघिल्लो आर्थिक वर्षमा शोधानान्तर ६७ अर्ब ४० करोड रुपैयाँले घाटामा थियो।

अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्ष ५९ करोड १० लाखले घाटामा रहेकोमा गत वर्षमा २ अर्ब ३५ करोडले बचतमा रहेको छ। आर्थिक वर्ष २०७६–७७ मा पुँजीगत ट्रान्सफर ८.१ प्रतिशतले घटी १४ अर्ब २१ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४९.१ प्रतिशतले वृद्धि भई रु. १९ अर्ब ४८ करोड पुगेको छ। अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर १५ अर्ब ४६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १३ अर्ब ६ करोड रहेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकको प्रतिवेदन अनुसार गत आवमा आयात १५.६ प्रतिशतले घटी ११ खर्ब ९६ अर्ब रुपैयाँको वस्तु आयात भएको छ। अघिल्लो वर्ष यस्तो आयात १३.९ प्रतिशतले बढेको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १९.९ प्रतिशत, ११.५ प्रतिशत र ५.३ प्रतिशतले घटेको छ। वस्तुगत आधारमा कच्चा पाम तेल, कच्चा सोयाविन तेल, रासायनिक मल, खाने तेल, कम्प्युटर तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एमएस बिलेट, सुन, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ।

आर्थिक वर्ष २०७६–७७ मा कुल वस्तु व्यापार घाटा १६.८ प्रतिशतले संकुचन भई १० खर्ब ९९ अर्ब ९ करोड कायम भएको छ। अघिल्लो वर्ष यस्तो घाटा १३.५ प्रतिशतले वृद्धि भएको थियो।

गत आवमा रेमिट्यान्स ०.५ प्रतिशतले मात्र कमी आई ८ खर्ब ७५ अर्ब रुपैयाँ भित्रिएको छ। अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो।

प्रकाशित: Aug 24, 2020| 18:34 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्