काठमाडौं– यो साता सेयर बजार परिसूचक उकालो लागिरहेको छ ।
साताको दोस्रो दिन सोमबार सेयर बजार २१.२६ अंकले उकालो लागेको छ । हिजो (आइतबार) पनि बजार १२.७७ अंकले उकालो लागेको थियो ।
नेप्से परिसूचक बढेसँगै कारोबार पनि अघिल्लो दिनको तुलनामा दोब्बरले बढेको छ । आइतबार एक अर्ब १० करोड ८० लाख रुपैयाँको कारोबार भएको सेयर बजारमा सोमबार झन्डै दोब्बरले बढेर २ अर्ब १३ करोड ९२ लाख २ हजार ७५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
उपत्यकामा गत ३ गते रातिदेखि निषेधाज्ञा जारी गरेर जनताको जनजीवन कष्टप्रद भए पनि बजार भने उत्साहित नै देखिएको छ । नेपाल स्टक एकसचेन्ज (नेप्से) ले अनलाइन कारोबार गर्न सक्नेगरी सफ्टवेयर विकास गरेको छ ।
उपत्यकामा भएको निषेधाज्ञासँगै मानिसहरु घरमा नै बसेर सेयर बजारमा अनलाईनमार्फत कारोबार गर्न थालेपछि बजार बढेको नेप्सेले जनाएको छ ।
सेयर बजारमा सोमबार १८२ कम्पनीको ४९ लाख २४ हनार २ सय ८९ कित्ता सेयर २ अर्ब १३ करोड ९२ लाख २ हजार ७५ रुपियाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका विभिन्न समूहमध्ये यसदिन होटल समूहको बाहेक अन्य सम्पूर्ण परिसूचक हरियो भएको छ ।
यसदिन नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । सो कम्पनीको सोमबार मात्र १९ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
