विराटनगर– प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ६ सय नाघेको छ । हिजो आइतबारसम्ममा २ हजार ५९ जनामा संक्रमण पुष्टि भइसकेको छ।
संक्रमितमध्ये १ हजार २६८ जना डिस्चार्ज भएका छन् । १८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १५ जना प्रदेश १ का छन् भने बाँकी ३ अन्य प्रदेशका। प्रदेश १ मा आइतबारसम्म संक्रिय संक्रमितको संख्या १ हजार ३७३ छ ।
लक्षण देखिएकालाई मात्र अस्पतालमा
प्रदेश १ मा लक्षण देखिएका कोरोना संक्रमितलाई मात्र अस्पतालमा भर्ना गर्ने गरिएको छ। सामान्य संक्रमितहरुलाई स्थानीय स्तरमा निर्माण गरिएको आइसोलेसन केन्द्र र होम आइसोलेसनमै राखिएको छ।
लक्षणसहितका संक्रमितको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचार हुने गरेको छ। सामान्य प्रकृतिका संक्रमितहरुलाई पूर्वाञ्चल विश्वविद्यालय आइसोलेसन अस्पताल र मेची अस्पतालमा पनि उपचार हुने गरेको छ।
सामान्य प्रकृतिका र लक्षण नदेखिएका संक्रमितहरुलाई आइसोलेसन केन्द्रहरुमा राख्ने गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए। लक्षण सहितका कोरोना संक्रमितको विराटनर र धरानमा उपचार हुँदै आएको छ ।
१ सय क्षमताको कोशी कोभिडमा अहिले ५० जना उपचाररत छन् । १ सय क्षमताको वीपीमा ९७ जना उपचारत छन् । १२५ क्षमताको गोठगाउँमा ४९ जना उपचाररत छन् ।
आइसोलेसन केन्द्र बढाइयो
संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश १ मा आइसोलेसन केन्द्र बढाइएको छ । संक्रमित बढी भएका स्थानका स्थानीय तहहरुले पनि आइसोलेसन केन्द्र बढाएका छन्। आइतबारसम्म सामाजिक विकास मन्त्रालयको कोभिड तथ्याङ्कमा करिब डेढ दर्जनको हाराहारीमा अस्पताल र आइसोलेसन केन्द्र रहेको उल्लेख छ । स्थानीय तहहरुले दैनिक आइसोलेसन केन्द्र थप गरिरहेकाले अझ बढ्ने मन्त्रालयले जनाएको छ ।
विराटनगर महानगरपालिकाले होटल, अस्पतालहरुमा आइसोलेसन केन्द्र थप गरेको छ । महानगरपालिकाले होटल एसियाटिकमा ६५ वेडको आइसोलेसन सञ्चालनमा ल्याइसकेको छ । न्युरो अस्पताल र विराट मेडिकल कलेजमा आइसोलेसन सञ्चालनबारे छलफल भइरहेको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए ।
होम आइसोलेसनमा बस्ने घट्दै
आइसोलेसन केन्द्र थपिएसँगै होम आइसोलेसनमा बस्नेको संख्या दैनिक घट्दै गएको छ । यसअघि ४ सयभन्दा बढी होम आइसोलेसनमा बसेका थिए । सामाजिक विकास मन्त्रालयको आइतबारको तथ्याङ्कअनुसार २७६ जनामात्र होम आइसोलेसनमा छन् ।
होम आइसोलेसनका मापदण्ड पुगेकालाई बस्ने अनुमति दिएको र नियमित अनुगमन हुने गरेको महानगरका जनस्वास्थ्य प्रमुख कार्कीले बताए । उनका अनुसार आइसोलेसन केन्द्रको अभावमा घरमै वस्दै आएकाहरु अहिले आइसोलेसन केन्द्रमा जान थालेका छन् ।