भैरहवा- कोरोना महामारी संक्रमणबाट सबै क्षेत्र प्रभावित भइरहेका बेला लुम्बिनीको पर्यटन प्रवर्धनका लागि स्थानीयवसी, पर्यटन व्यवसायी र लुम्बिनी विकास कोषले ऐक्यबद्धता जनाएका छन्।
सामाजिक दुरी कायम गर्दै लुम्बिनी विकास कोषको सभाहलमा आइतबार आयोजित छलफलमा सहभागीले सबै मिलेर मात्र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्धनमा सघाउन पुग्ने बताएका हुन्।
लुम्बिनी संरक्षण नागरिक समाजका अध्यक्ष मेघनाथ आचार्यले लुम्बिनी विकास कोषले पर्यटन प्रवर्धनका गर्ने हरेक गतिविधिमा स्थानीय बासिन्दा सक्रियतापूर्वक साथ दिन तयार भएको बताए।
उनले भने, ‘इतिहासमै पहिलो पटक स्थानीय बासिन्दा कोषको पदाधिकारी र जिम्मेवारीमा हुनुहुन्छ। यस्तो बेला स्थानीयसँग नजिक भएर काम गरेमा विकास कोषको योजना दीर्घकालीन हुन्छ।’
पत्रकार हिम बिस्टले कोरोना महामारीले विश्व नै आक्रान्त भएका बेला लुम्बिनीमा त्यसको परेको असरले लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी पनि प्रभावित भएको बताए।
लुम्बिनी होटल संघ नेपालका महासचिव लीलामणि शर्माले लुम्बिनीको विकासमा होटल व्यवसायी सधैं हातमा हात मिलाएर अगाडि बढ्न तयार भएको बताए।
लुम्बिनी विकास कोषका कामु सदस्य सचिव ज्ञानिन राईले कोरोना महामारीबाट पर्यटन क्षेत्रमा परेको असर कम गर्न कोषले सबैसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
विकाष कोषका उपाध्यक्ष भिक्षु मैत्तयाले लुम्बिनी वरिपरिको विकाष दीर्घकालीन विकास लक्ष्य सहित अगाडि बढेको बताए।
छलफलमा लुम्बिनी होटल संघ नेपालका अध्यक्ष मिथुनमान श्रेष्ठ, लुम्बिनी पर्यटन व्यवसायी संघका पिन्टु बानिया, उद्योग व्यपार संगठन लुम्बिनीका अध्यक्ष कृष्णबहादुर गुरुङ, मायादेवी आमा समूही मन्जु ढकाल, बौद्ध युवा समूह लुम्बिनीका धीरज गुप्ता, सिद्धार्थ होटल संघका एकरामुद्धिन खान, ट्याक्सी व्यवसायी संघका लुम्बिनी अनिल कुमार, सिद्धार्थ माला पसल व्यवसायी समूहका अरबन्दि बानिया, लुम्बिनी रेस्टुरेन्ट व्यवसायी संघका हरि भण्डारी सहभागी थिए।
