बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • नागढुंगा-मुग्लिङसहित देशभरका मुख्य राजमार्ग ठप्प, जोखिम कायमै

नागढुंगा-मुग्लिङसहित देशभरका मुख्य राजमार्ग ठप्प, जोखिम कायमै

 |  बिहीबार, भदौ ११, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०८३

काठमाडौं- अविरल वर्षा र बाढीपहिरोको उच्च जोखिमका कारण काठमाडौं उपत्यका जोड्ने मुख्य सडक खण्डसहित देशभरका प्रमुख राजमार्गहरू प्रभावित भएका छन्। प्रहरी प्रधान कार्यालय तथा ट्राफिक प्रहरीले बिहीबार बिहान अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा बन्द गरिएको जनाएको छ।

विशेषगरी काठमाडौँलाई तराई र पश्चिम नेपालसँग जोड्ने लाइफलाइन मानिने नागढुङ्गा–मुग्लिङ सडक खण्डमा बाढीको उच्च जोखिम रहेकाले सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ।

यस्तै, बाढीपहिरो जोखिमयुक्त पहाडी सडकहरूमा दुर्घटना हुन नदिन प्रशासनले बीपी राजमार्ग, कान्तिलोकपथ र टोखा–छहरे खण्डमा रातको समयमा सवारी सञ्चालन गर्न रोक लगाएको छ।

नागढुङ्गा–मुग्लिङ सडक खण्ड बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै नागढुङ्गादेखि मुग्लिङसम्मको सडकमा दुवैतर्फबाट सवारी आवागमनमा पूर्ण रोक लगाइएको छ। बीपी राजमार्ग पनि सवारी सञ्चालनमा रोक लगाइएको छ। सम्भावित बाढी र जोखिमका कारण खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा अर्को सूचना नआएसम्म सवारी सञ्चालनमा रोक लगाइएको हो। उक्त सडक खण्ड मौसम र सडकको अवस्था हेरेर मात्र सवारी चल्न दिइने बताइएको छ। 

हेटौँडा–ठिङ्गन–बागमती हुँदै ललितपुर जोड्ने कान्तिलोकपथमा पहिरोको जोखिमका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म (रातको समयमा) सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ।

रसुवा (त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी खण्ड) अन्तर्गतको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित सडक बाढीका कारण पूर्ण रूपमा अवरुद्ध बनेको छ। यो सडक खण्ड लामो समय अवरुद्ध रहने जनाइएको छ। साथै जिल्लाका अन्य मुख्य राजमार्गहरू पनि पूर्ण बन्द छन्। 

शिवपुरी गाउँपालिका–८ घट्टेखोला क्षेत्रमा जोखिम रहेकाले राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ। नुवाकोटका मुख्य राजमार्गहरूमा पनि अवरोध कायमै छ। 

यस्तै, ईलाम नगरपालिका–९ राजदुवालीस्थित झापा–ताप्लेजुङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। यस सडक खण्डमा यात्राका लागि वैकल्पिक बाटो प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

प्रहरी प्रशासनले बाढीपहिरोको जोखिम कायमै रहेकाले अत्यावश्यक कामबाहेक लामो दूरी र रातको समयमा यात्रा नगर्न तथा सम्बन्धित प्रहरी कार्यालय वा ट्राफिक कन्ट्रोलको सम्पर्कमा रहेर मात्र यात्रा तय गर्न सर्वसाधारणलाई अपिल गरेको छ।

प्रकाशित: Aug 27, 2026| 08:53 बिहीबार, भदौ ११, २०८३
प्रतिक्रिया दिनुहोस्