भैरहवा– जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लाभर निषेधाज्ञाको अवधि थप गरेको छ।
समुदायस्तरमा कोरोना भाइरस संक्रमण बढेपछि रुपन्देहीमा थप एक साताका लागि निषेधाज्ञा थपिएको हो।
यसअघि भदौ ७ गते सम्मका लागि गरिएको निषेधाज्ञा भदौ १४ गते राति १२ बजे सम्मका लागि थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जानकारी दिए।
जिल्लास्तरीय कोभिड १९ नियन्त्रण तथा रोकथाम केन्द्रको बैठकले कोरोना रोकथाम र नियन्त्रणका लागि भदौ १४ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरिएको हो।
निषेधाज्ञाका समयमा मानिसको जमघट, भेटघाट, बैठक, भेला जस्ता कार्यक्रम नगर्ने, धार्मिक स्थलमा नृत्य पूजाबाहेक अन्य गतिविधि सञ्चालन नगर्ने, चाडपर्वहरु आफ्नै घरभित्र जनस्वास्थयको मापदण्ड पूरा गरेर मात्रै मनाउन पाइनेछ।
निषेधाज्ञा उल्लंघन गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।