काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ८१८ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ८ हजार २६ जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा २२० महिला र ५९८ पुरुषमा कोरोना पोजेटिभ देखिएको हो। योसहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ३१ हजार ९३५ पुगेको छ।
त्यस्तै, नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या डेढ सय नजिक पुगेको छ। पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु पुष्टि भएसँगै मृतकको संख्या १४९ पुगेको हो। केही दिनयता दैनिक रूपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ।
पहिलोपटक नेपालमा गत जेठ ३ गते कोरोना संक्रमित सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो।
आज ४ वटा ल्याबहरुले पोजेटिभ केस मात्रै पठाएका कारण जम्मा पीसीआर नमुना परीक्षणको संख्या कम भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
भरतपुर अस्पताल प्रयोगशाला चितवन, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज, वीरेन्द्र सैनिक अस्पताल छाउनी र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाबाट पोजेटिभ देखिएकाको संख्या मात्रै आएको र कुल परीक्षणको तथ्यांक नआएको बताए।
उनले ती प्रयोगशालाहरुलाई समयमै र नियमितरुपमा कुल परीक्षणको संख्या पठाउन पनि ताकेता गरे।
हालसम्म नेपालमा ६ लाख ४ हजार ४४ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार १५५ छ। जसमध्ये संस्थागत आइसोलेसन ९ हजार २१२ जना रहेका छन् भने होम आइसोलेसनमा ३ हजार ९४३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
हाल ११ हजार ४१४ जना विभिन्न क्वारेन्टिनमा रहेका छन्।
पछिल्लो २४ घण्टामा देशभरबाट २८१ जना डिस्चार्ज भएका छन्। हालसम्म कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १८ हजार ६३१ छ।