बिहीबार, भदौ ११, २०८३

‘सहकारीको अनुगमन नगरे वित्तीय जोखिम आउन सक्छ’

काठमाडौं- सहकारीका नाममा वित्तीय जोखिम आउनसक्ने सरोकारवालाहरुले बताएका छन् ।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

काठमाडौं- सहकारीका नाममा वित्तीय जोखिम आउनसक्ने सरोकारवालाहरुले बताएका छन् ।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले आयोजना गरेको ‘सहकारी र बैंक तथा वित्तीय संस्थासँग सहकार्य’ विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीमा प्रभावकारी नियमन हुन नसक्दा जोखिम बढ्दै गएको र यसले समग्र वित्तीय अर्थतन्त्रमा समस्या ल्याउनेमा चिन्ता व्यक्त गरेका हुन् ।

उनीहरुले सहकारीको प्रभावकारी नियमनमा जोड दिन सके तथा सहकारी र बैंक तथा वित्तीय संस्था सहकार्य गरी अघि बढ्न सके वित्तीय क्षेत्र जोखिममुक्त हुने बताए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले सहकारीको कारोबारमा शंका गर्ने ठाउँ रहेको बताए । ‘शंका गर्दै सहजीकरण गरी अघि बढ्ने हो,’ उनले भने । सहकारीलाई निगरानी र कानुनी दायरामा ल्याउन थुप्रै काम गर्न बाँकी रहेको उनको भनाइ छ ।

सहकारीले सदस्यबाट पैसा संकलन गरी आफै सेवा उपभोग गर्ने गरेको समेत उनले बताए । ‘सहकारीले सदस्यको हितमा काम गर्नुपर्छ,’ उनले भने, ‘बैंकको नाफा हेरेर सहकारीले सदस्य निचोरेर नाफा कुरा गर्न सुहाउँदैन ।’ सबै सहकारी बदमास नभए पनि धेरै सहकारीले नाजायज काम गरेको उनको भनाइ छ ।

सहकारीको तथ्यांक भद्रगोल भएको भन्दै सचिव पाण्डेले सहकारीको एकीकृत र सिंगो तथ्यांक ल्याउन तयारी सुरु भएको बताए । कोपोमिस र सहकारी सूचना केन्द्रमार्फत सहकारीको वास्तविक तथ्यांक ल्याउनले उनले बताए ।

सहकारी सहर केन्द्रित भई गाउँ नगएकोमा दुःख व्यक्त गर्दै उनले सहरमा रहेका सहकारीहरुले बचत हिनामिना गर्ने गरेको समेत दावी गरे।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकार भट्टले राष्ट्र बैंकले सहकारीलाई विभेद गर्ने भन्दा पनि सीमारेखाभित्र रहेर वित्तीय सेवा सञ्चालन गरिरहेको बताए । सहकारी क्षेत्रको बचत र ऋणलाई राष्ट्र बैंकले समेट्ने गरेको उनले बताए ।

सहकारीको नियमन अत्यावश्यक भएको उनको भनाइ छ । उनले सहकारीको अनुगमन र नियमन नगरेमा वित्तीय जोखिम आउन सक्ने बताए।

सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डे सहकारीको नियमन गर्न प्राधिकरण लगायत छुट्टै संरचना आवश्यक भएको बताए । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीले ऐनभित्र रहेर वित्तीय सेवा दिइरहेका बताए । सहकारी कसैको प्रतिष्पर्धी नभई सरकारको पूरक भएको उनको भनाइ छ।

नेपाल बैकर्स संघका अध्यक्ष भुवन दाहालले सहकारीलाई प्रतिस्पर्धीका रुपमा नलिएको बताए । ‘सहकारीको भाग खोसेर बैंक अघि बढ्ने होइन,’ उनले भने, ‘ग्रामीण क्षेत्रमा कार्यरत सहकारीलाई सहकार्य गरी हामी अघि बढेका छौं । आफैंले कर्जा प्रवाह गर्दैछौं ।

राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले सहकारीले वित्तीय क्षेत्रमा ठूलो काम गरेको बताए । नीतिमा एकरुपता हुन सके सहकारी विकासमा समस्या नभएको उनको भनाइ छ ।

प्रकाशित: Aug 23, 2020| 13:04 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्