बिहीबार, भदौ ११, २०८३

कान्छा महारानीको मनोवादमा आफैंलाई पाएँ : सगुना शाह

निश्चय नै कुनै पनि मौलिक भाषाको कृतिलाई अर्को भाषामा अनुवाद गर्नु गाह्रो काम हो। त्यसमाथि साहित्यिक कृति अनुवाद गर्ने क्रममा लेखकको मर्म, विचार, शैली र शिल्पको विशेष ख्याल गर्नुपर्ने हुन्छ।
 |  शनिबार, भदौ ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ६, २०७७

साहित्य प्राध्यापनमा संलग्न सगुना शाह प्राज्ञिक लेखनमा पनि सक्रिय छिन्। नेपालमा पठन संस्कृति प्रवर्द्धनका लागि सन् २०११ देखि सुरु भएको बुकहोलिक्सकी संस्थापक उनले शीवा शाहको अंग्रेजी उपन्यास ‘द अदर क्विन’ लाई नेपालीमा अनुवाद गरेकी छन्। उक्त कृतिलाई सांग्रिला बुक्सले हालै ‘कान्छा महारानी’ शीर्षकमा प्रकाशित गरेको छ। सोही पुस्तक र अनुवादबारे सगुना शाहसँग गरिएको कुराकानी–

साहित्यिक कृति अनुवाद गर्दा त्यसको भावना जीवितै राख्न निकै कठिन हुन्छ। तपाईंको अनुभव कस्तो रह्यो?

निश्चय नै कुनै पनि मौलिक भाषाको कृतिलाई अर्को भाषामा अनुवाद गर्नु गाह्रो काम हो। त्यसमाथि साहित्यिक कृति अनुवाद गर्ने क्रममा लेखकको मर्म, विचार, शैली र शिल्पको विशेष ख्याल गर्नुपर्ने हुन्छ। साहित्यमा शाब्दिक अनुवाद नभएर भावानुवाद गर्न सके मात्र केही हदसम्म मूल कृतिमाथि न्याय हुन सक्छ।

मैले धेरै समयदेखि शीवा शाहलाई पढ्दै आएकी छु। ‘द अदर क्विन’ सम्म आइपुग्दा उनको अंग्रेजी भाषामाथिको पकड अझ दह्रो भएको छ। त्यसमाथि ‘कान्छा महारानी’ को विषयवस्तुले अनुवादमा विशेष मिहिनेतको माग गर्छ। अनुवाद गर्न सजिलो थिएन।

यस्तो समस्या अन्य विदेशी भाषामा लेखिएका साहित्यिक कृति अनुवाद गर्दा अझ बढी हुन्छ कि?

अन्य विदेशी भाषाका कृतिहरुको प्रायः हामीले अंग्रेजी अनुवाद पढेका हुन्छौं। हुन त ती कृतिहरु पनि पुनः अनुवाद भएर नेपाली भाषामा ननिस्केका होइनन्। खलिल जिब्रान, पाउलो कोएलो, हर्मन हेस्सेका प्रशस्त कृति नेपालीमा पनि अनूदित छन् तर आफूले नपढेको हुनाले कस्ता छन् भन्न सक्दिनँ। म फ्रान्सेली भाषा पनि पढाउने भएकाले फ्रेन्च मूल लेखनबाट अनुवाद गरिएका लेखहरुमा भने कमजोरी भेटेकी छु। मुख्य कुरा लेखकको मर्म बुझ्न जरुरी छ। आफूले नेपालीबाट अंग्रेजीमा अनुवाद गरेका फुटकर कथा र कवितामा पनि शब्दको भावानुवाद गर्न बेलाबखत गाह्राे भएको छ। अझ कविता अनुवाद गर्नु त निकै कठिन काम हो।

‘कान्छा महारानी’, यो शब्द प्रचलित नेपाली व्याकरणसँग अमिल्दो रहेको भन्ने पनि छन्। यसबारे स्पष्ट पारिदिनुस् न।

व्याकरणका हिसाबले ‘कान्छा महारानी’ अमिल्दो जस्तो लाग्छ। त्यसैले प्रश्न उठ्नु स्वाभाविक हो। तर, कुनै पनि कुरामाथि जिज्ञासु हुनुको सट्टा गल्ती औंल्याउन तत्पर भइहाल्ने हाम्रो बानी छ। मैले चाहिँ किताबको आवरण सार्वजनिक भएदेखि नै यस्तो पाएँ।

एउटा चर्चित दैनिक पत्रिकामा प्रकाशित लेखमा त किताब को नाम नै ‘कान्छी महारानी’ भनेर छापिएको रहेछ। अनुवादकले किताबको आवरणमै यति ठूलो गल्ती त गर्दैन होला। साधारण हिसाबले बुझ्ने हो भने यो दरबारिया चलन हो। कान्छा महारानी, माहिला महारानी दरबारिया शब्द हुन्। यस्ता शब्द नेपालको इतिहासबारे लेखिएका धेरै अंग्रेजीमा लेखहरुमा पाइन्छ।

बडामहारानी सम्बोधन सजिलै पाच्य छ नि हैन? ‘टम ब्वाई’ शब्द केटी मान्छेलाई नै गरिने सम्बोधन हो। ‘बाहुन’ शब्दले कुनै जात बुझाउँछ तर, कतिपयले आफ्ना पतिका लागि यो शब्द प्रयोग गरेको पाइन्छ।

‘कान्छा महारानी’ शब्द किन प्रयोग गरियो भन्ने बुझ्न त पहिला उपन्यास पढ्नैपर्छ। पितृसत्तात्मक सोचले एउटा यस्ती महारानी जसमा पुरुष भन्दा बढी पुरुषार्थ छ, त्यसैले पो यसरी सम्बोधन गरिएको हो कि ! शाब्दिक अनुवादमै जाने हो भने त ‘द अदर क्विन’ को ‘अर्की महारानी’ हुनुपर्ने।

अनुवादका लागि ‘द अदर क्विन’ नै किन छान्नुभयो? वा लेखकले नै अनुरोध गर्नुभएको हो?

‘द अदर क्विन’ नेपालीमा अनुवाद गर्न शीवा शाहले नै अनुरोध गर्नुभएको हो। कारण के हो भने उहाँलाई उपन्यासको विषयवस्तुसँग म राम्रोसित परिचित छु भन्ने लागेको रहेछ। अर्को कुरा दरबारिया बोलीचालीका बारेमा पनि मलाई बढी जानकारी छ।

मेरा लागि यो उपन्यास दुई कारणले महत्त्वपूर्ण छ। पहिलो, यो उपन्यास पढिसक्दा कुनै पनि महिलाले कान्छा महारानीको चरित्र र आफूमा रहेको आन्तरिक द्वन्द्व, जलन, ईर्ष्या मात्र नभई महिलामा हुने सहनशीलता, शक्ति अनि आँटको अनुभव गर्न सक्नेछन्। मुख्य पात्रको मनोवादमा धेरै ठाउँमा मैले आफूलाई नै पाएँ।

दोस्रो, श्री ५ राजेन्द्रका दोस्रो पुत्र माहिला साहेबज्यू उपेन्द्र वीर विक्रम शाह तन्त्रसाधनामा पोख्त थिए। उनले १०४ वर्षीय राणा शासनको सुरुआत नै नहोस् भनेर विशेष प्रयास गरेका थिए। तर उनलाई इतिहासले कहिले स्मरण गरेन। माहिला साहेबज्यूको सन्तान भएको नाताले पनि यो मेरा लागि महत्त्वपूर्ण हुन पुग्यो।

'कान्छा महारानी’ कुन विषयवस्तुमा आधारित उपन्यास हो?

‘कान्छा महारानी’ इतिहासको त्यो कालखण्डमाथि लेखिएको उपन्यास हो जसबारे पटकपटक लेखिएको छ। तर यो ऐतिहासिक उपन्यास नभई इतिहासमा आधारित घटनाको पहल कसरी भयो भन्ने बारेमा हो। कान्छा महारानीको संस्मरण र मनोवादमा शीवा शाहको कल्पनाले रङ भरेर यसलाई नितान्त नौलो रुपमा प्रस्तुत गरेको छ।

तपाईंलाई यो पुस्तकका लक्षित पाठक कुन उमेर समूहका हुन् जस्तो लाग्छ?

कुनै विशेष उमेर र वर्गका पाठकलाई लक्षित नभए पनि इतिहासमा रुचि भएका र महिलाका लागि ‘कान्छा महारानी’ विशेष हुन सक्छ।
मूल कृति निकै सबल अंग्रेजी भाषामा रहेको र अनुवादमा त्यसअनुसारको ओज कायम राख्न पर्ने भएकाले भरखरै नेपालीमा पढ्न सुरु गरेका पाठकलाई भाषा कतै अलि कठिन लाग्न सक्छ।

नेपाली साहित्यका कस्ता कृति अंग्रेजी वा अन्य विदेशी भाषामा अनुवाद हुनुपर्छ जस्तो लाग्छ?

अग्रज लेखकहरुका साहित्यिक कृति। गुरुप्रसाद मैनाली, शंकर लामिछाने, बानिरा गिरी, नामै लिन थाल्यो भने सूची लामै तयार हुन्छ। उहाँहरूका कृतिमा रहेको प्रचूर साहित्यिक शक्ति र अग्रगामी सोच अनुवादमार्फत विश्व साहित्यका पाठकमाझ पुर्याउन सके गज्जब हुन्थ्यो।

केही उम्दा किसिमका अनुवाद भएका पनि छन्। माया ठकुरीको ‘आमा जानुहोस्’ कथा संग्रह अक्षर क्रिएसनकी अर्चना थापाले अंग्रेजीमा ‘अफ अ लेसर गड’ भनेर ल्याउनुभएको छ। म आफैं पनि अग्रज साहित्यकारका कृति पढ्न विशेष चाख राख्छु।

सम्बन्धित समाचार

'कान्छा महारानी' उपन्यास प्रकाशित

प्रकाशित: Aug 22, 2020| 08:17 शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।