काठमाडौं- चौतर्फी विरोधपछि सरकार सवारीसाधनका नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोग गर्न बाध्य हुने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नम्बर प्लेटमा अंग्रेजी भाषाको प्रयोग रोक्ने विश्वास दिलाएका हुन्। उनले यसबारे आफू गम्भीर रहेकाे भन्दै सम्बन्धित मन्त्रालय र निकायसँग चाँडै परामर्श गरेर सवारीसाधनकाे नम्बर प्लेटमा देवनागरी लिपिकाे प्रयाेग गर्न निर्देशन दिने बताएका छन्।
सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अंग्रेजी भाषामा मात्र राख्ने सरकारी तयारीप्रति मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल लगायतका संघसंस्थाले कडा विरोध जनाउँदै आएका छन्।
विभिन्न अभियन्ताहरुको विरोधपछि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रधानमन्त्रीसँग भेट गरी सवारीसाधनको नम्बर प्लेटमा अंग्रेजी भाषा राख्न नहुने सुझाव दिएका थिए।
सवारीसाधनको नम्बर प्लेटमा अंग्रेजी भाषा मात्र राख्ने निर्णय गरेर सरकारले नेपाली भाषा, राष्ट्रियता, संविधानको धज्जी उडाउन खोजेपछि दबाबमा उत्रिएको सञ्जालका अध्यक्ष प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइटेलले बताए।
नेपालको संविधानको धारा ७ को उपधारा ९१० मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ भन्ने व्यवस्था छ। सरकारले नै संविधानविराेधी काम गर्न थालेकाे भन्दै अभियन्ताहरूले विराेध जनाइरहेका छन्।
लुइटेलले भने, 'सवारीसाधनको नम्बर प्लेट नेपाली भाषामै लेखिनुपर्छ। नेपाली भाषाको अपमान गर्न कसैलाई छुट दिँदैनौं। नेपाली भाषामाथि यस किसिमका दुष्कार्य नगर्न सम्बद्ध सबैलाई सञ्जाल चेतावनीका साथ सचेत गराउँदै आएको छ।'
उनले सवारीसाधनमा मात्र होइन, हरेक क्षेत्र र निकायमा मानक नेपाली भाषाको प्रयोग गराएरै छाड्न आफूहरु अझै सक्रियतासाथ अघि बढ्ने बताए।
सम्बन्धित समाचार
