काठमाडौं– विद्युत् प्रसारण र वितरण प्रणाली सुधारको लागि सरकारले २८ अर्ब बराबर सहुलियतपूर्ण ऋण लिने तयारी गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले एसियाली विकास बैंकबाट २०० मिलियन डलर (करिब २४ अर्ब रुपैयाँ) र नर्वे सरकारको तर्फबाट अमेरिकी डलर ३५ मिलियन (चार अर्ब) रुपैयाँ बराबरको ऋण स्वीकार गर्ने निर्णय गरेको हो।
उक्त रकम दक्षिण पूर्वी एसियाली मुलुकमा विद्युत् व्यापार गर्न र प्रणाली सुधार गर्न उपयोग गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।
त्यस्तै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजस्व बोर्डको अध्यक्षमा पूर्वसचिव महेश दाहाल र सदस्यमा पूर्व सहसचिव निर्मलहरि अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
अन्तर्राष्ट्रिय वित्त निगमको सेयर खरिद गर्न अनुमति दिने पनि बैठकले निर्णय गरेको छ।
वित्त निगमको नेपाल पनि सदस्य राष्ट्र हो। पुँजी बढाउने र कारोबारको आकार बढाउने निगमले तयारी गरेको हुँदा थप शेयर लगानी गर्ने मन्त्रिपरिषदले निर्णय गरेको हो।
