बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्राधिकरणले कमायो ११ अर्ब, १५ वर्षपछि चार अर्ब सञ्चित नाफा

प्राधिकरणले कमायो ११ अर्ब, १५ वर्षपछि चार अर्ब सञ्चित नाफा

नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा ११ अर्ब ५ करोड रुपैयाँ नाफा गरेको छ। प्राधिकरणले गत आर्थिक वर्षमा विद्युत बिक्री तथा अन्य आम्दानीबाट ७७ अर्ब ८० करोड रुपैयाँ कमाएको थियो।
 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा ११ अर्ब ५ करोड रुपैयाँ नाफा गरेको छ। प्राधिकरणले गत आर्थिक वर्षमा विद्युत बिक्री तथा अन्य आम्दानीबाट ७७ अर्ब ८० करोड रुपैयाँ कमाएको थियो।

प्राधिकरणले सोमबार आफ्नो वार्षिकोत्सवको अवसरमा कम्पनीको वित्तिय विवरण सार्वजनिक गर्दै विद्युत बिक्रीबाट भएको आम्दानीको ५१.३ प्रतिशत रकम विद्युत खरिदमा खर्च भएको पनि जनाएको छ।

घाटामा गइरहेको प्राधिकरणलाई नाफामा ल्याउन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ठूलो हात छ। घिसिङलाई सरकारले २०७३ भदौमा प्राधिकरणको जिम्मेवारी तोकेको थियो। उनी प्राधिकरणको नेतृत्वमा आएपछि नै नेपालमा दैनिक १८ घण्टासम्म हुने गरेको लोडसेडिङको अन्त्य भएको थियो।

प्राधिकरणले आफूअन्तर्गतको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट सन् २०२० अन्त्यदेखि विद्युत उत्पादन सुरु हुने जनाएको छ। यो आयोजनाका सबै युनिट सन् २०२१ को फेब्रुअरी अर्थात् यही वर्षको फागुुन १५ भित्रमा सञ्चालनमा आउने वार्षिकोत्सवका अवसरमा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै प्राधिकरणले गत वर्ष चार अर्ब ८६ करोड रुपैयाँ सन्चित नाफा गरेको छ। यो नाफा गत १५ वर्षयताकै धेरै हो। आर्थिक वर्ष २०७५/७६ सम्म प्राधिकरणको सञ्चित नोक्सानी १२ अर्ब २३ करोड रुपैयाँ थियो। गत आर्थिक वर्षमा भने प्राधिकरणले १२ अर्बको सञ्चित नोक्सानी पूर्ति गर्दै ४ अर्ब ८६ करोड रुपैयाँ सञ्चित नाफा भएको जनाएको छ।

प्राधिकरणको सञ्चित नोक्सान २७ अर्ब रूपैयाँ पुगेपछि सरकारले आर्थिक वर्ष २०६७/०६८ मा अपलेखन गरी शून्यमा झारिदिएको थियो। त्यसयता पनि प्राधिकरण निरन्तर सञ्चित नोक्सानीमा गइरहेको थियो।

आर्थिक वर्ष २०७२/०७३ मा सञ्चित नोक्सान सबैभन्दा बढी ३४ अर्ब ६१ करोड रुपैयाँ पुगेको थियो। प्राधिकरण आर्थिक वर्ष २०७३/०७४ बाट नाफामा जान थालेको हो।

अपलेखन गर्नु ५ वर्ष अघिदेखि प्राधिकरण सञ्चित नोक्सानीमा थियो। सरकारले घाटा अपलेखन गरेको १० वर्ष भएको छ। १० वर्षपछि भने प्राधिकरण सञ्चित नाफामा गएको हो।

लगातार सञ्चित नोक्सानीमा गइरहेको प्राधिकरणलाई निर्देशक घिसिङले नाफामा ल्याएका छन्। योसँगै अब घिसिङको कार्यकाल पनि सकिन लागेको छ। प्राधिकरणमा नयाँ निर्देशक को आउने भन्ने विषयमा अझै केही टुंगो लागेको छैन।

प्रकाशित: Aug 17, 2020| 14:25 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्