बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पुनर्कर्जाका लागि राष्ट्र बैंकले माग्यो प्रस्ताव, कसले पाउँछन्–कसले पाउँदैनन् ?

पुनर्कर्जाका लागि राष्ट्र बैंकले माग्यो प्रस्ताव, कसले पाउँछन्–कसले पाउँदैनन् ?

केन्द्रीय बैंकले आज सोमबार सूचना जारी गरी बैंक तथा वित्तीय संस्थाहरुलाई पुनर्कर्जाको लागि आवेदन दिन आह्वान गरेको हो।
 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

काठमाडौं– नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको लागि प्रस्ताव आह्वान गरेको छ। केन्द्रीय बैंकले आज सोमबार सूचना जारी गरी बैंक तथा वित्तीय संस्थाहरुलाई पुनर्कर्जाको लागि आवेदन दिन आह्वान गरेको हो।

राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जाका लागि प्रस्ताव मागेको छ। पुनर्कर्जाको लागि बैंक तथा वित्तीय संस्थाले असोज १४ गतेसम्म आवेदन दिनु पर्नेछ।

यो कर्जा बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको असल कर्जाको धितोमा राष्ट्र बैंकले कोभिड–१९ बाट अति प्रभावित तथा मध्यम प्रभावित क्षेत्रहरुमा प्रवाह गर्नु पर्नेछ।

लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा प्रतिग्राहक १५ लाख रुपैयाँसम्म, विशेष र साधारण पुनर्कर्जा प्रतिग्राहक ५ करोड रुपैयाँसम्म बैंक तथा वित्तीय संस्थालाई उपलब्ध हुनेछ। यसको व्याजदर कम्तीमा ३ र बढीमा ५ प्रतिशत हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

एकमुष्ट पाउने पुनर्कर्जामा एक वर्ष र ऋणी अनुसारको प्रदान गर्ने पुनर्कर्जाको हकमा कोभिड–१९ बाट बढी प्रभावितको हकमा बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावितको हकमा ६ महिनाको हुनेछ। बैंकले चाहेमा सो पुनर्कर्जा नवीकरण हुन सक्नेछ।

क–कसले पाउँछन् पुनर्कर्जा ?

नेपाल राष्ट्र बैंंकले पुनर्कर्जाको लागि कार्यविधि नै बनाएको छ। कार्यविधिअनुसार कोभिड–१९ का कारण अति प्रभावित, मध्यम प्रभावित र न्यून प्रभावित भएका लघु तथा मद्यम उद्यमी व्यवासायीले १५ लाख रुपैयाँसम्मको कर्जा पाउनेछन्।

त्यस्तै वैदेशिक रोजगारीबाट फर्केका उद्यमी, कृषि उत्पादन तथा प्रशोधन, पशुपंछी पालन, ह्याचरी, मत्स्यपालन आदिमा प्रवाहित कर्जा, कृषि औजार तथा यन्त्र उत्पादन तथा बिक्रीवितरण, उत्पादनमूलक क्षेत्र समय–समयमा तोकेका अन्य लघु, घरेलु तथा साना उद्यमीहरुले यो कर्जा पाउनेछन्।

त्यस्तै विशेष पुनर्कर्जाका लागि सञ्चालनमा रहेका निर्यातजन्य उद्योग–व्यवसाय, न्यून आय भएका महिला, आदिवासी, जनजाति, मधेशी, दलित, फरक ढंगबाट सक्षम व्यक्तिले सञ्चालन गरेको उद्यम–व्यवसाय, रुग्ण उद्योग तथा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र, वैदेशिक रोजगारीमा जाने कोभिड–१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रहरुले यो कर्जा पाउनेछन्।

साधारण पुनर्कर्जा जलविद्युत् परियोजना, कृषि क्षेत्र, पशुपंक्षी तथा मत्स्यपालन व्यवसाय, विदेशमा रोजगारी वा अध्ययन गरी फर्केका युवाहरूले सञ्चालन गरेका उद्योग–व्यवसाय, उत्पादनमूलक उद्योग, पर्यटन उद्योग, निर्माण उद्योग, शिक्षा, स्वास्थ्य, संचार, मनोरञ्जन, हवाई उड्डयन, सार्वजनिक यातायात, औषधि उद्योग, डायग्नोष्टिक सेन्टर, स्वास्थ्य तथा शिक्षण संस्था, अस्पताल, फोहरमैला प्रशोधनसँग सम्बन्धित उद्योगले पाउने छन्।

त्यस्तै पर्यटकीय सम्भावना रहेका तर तुलनात्मक रुपमा विकास हुन नसकेका पर्यटकीय गन्तव्यहरु पाथिभरा, माइपोखरी, भिमेश्वर, कालिञ्चोक, हलेसी, लाङटाङ, स्वर्गद्वारी, मनकामना, मुक्तिनाथ, माथिल्लो मुस्ताङ, महागढीमाई, जनकपुरधाम, धनुषाधाम, छिन्नमस्ता, पाँचपोखरी, रारा तथा खप्तड लगायतका क्षेत्रमा पर्यटकीय पूर्वाधार स्थापनाका लागि गरिएका लगानीका लागि पनि साधारण पुनर्कर्जा दिइने छ।

कोभिड–१९ लगायत संक्रामक रोगजन्य महामारीको कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका तर भविष्यमा सञ्चालनको सम्भावना रहेका उद्यमीलाई दिइने कर्जा, बैंकले तोकिएका उद्योगहरुले साधारण पुनर्कर्जा पाउनेछन्।

कसले पाउँदैनन् पुनर्कर्जा ?

कुनै उद्यमको लागि नभई व्यक्तिगत प्रयोजनका लागि दिइने कर्जा, ओभरड्राफ्ट कर्जा, घरजग्गा कर्जा, सवारी कर्जा, घरायसी सामग्री कर्जा, मार्जिन कर्जा, सुनचाँदी कर्जा, सामाजिक कर्जा तथा व्यक्तिगत नाममा वा व्यक्तिगत उपभोगका लागि लिइने कर्जाले भने पुनर्कर्जा पाउने छैनन्।

तर, व्यक्तिगत नाममा कर्जा लिई ट्याक्सी चलाउने, विद्युतीय टेम्पो चलाउने जस्ता स्वरोजगारमूलक कार्य गरी आयआर्जन गरेको विषयमा इजाजतप्राप्त संस्था आश्वस्त भएमा त्यस्तो कर्जा अयोग्य मानिनेछैन।

त्यस्तै व्याज अनुदान प्राप्त सहुलियतपूर्ण कर्जा लगायतका अन्य अनुदान प्राप्त कर्जाहरु, वर्षको औसत २० प्रतिशत भन्दा कम रिटर्न गरेका उद्योगहरु चुरोट, बिँडी, सिगार, सुर्ती, खैनी, गुट्खा लगायतका सुर्तीजन्य उद्योग–व्यवसाय र मदिरा तथा मदिराजन्य र बैंकले समय–समयमा तोकेका अन्य कर्जाहरुलाई पुनर्कर्जा नदिइने नेपाल राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: Aug 17, 2020| 12:25 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्