बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया बैंकद्वारा कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे सुचारु

एनआईसी एशिया बैंकद्वारा कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे सुचारु

 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

एन आई सी एशिया बैंकले आफ्नो डिजिटल फस्ट बैंक बन्ने रणनीति अनुरुप कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे सुचारु गरेको छ।

बैंकले अन्तर्राष्ट्रिय गेटवे प्रदायक कम्पनी साइबरसोर्स आईएनसीको गेटवे प्रणाली नेपालमा भित्र्याउँदै इच्छुक मर्चेन्टहरूका लागि जुनसुकै राष्ट्रिय तथा अन्तर्राट्रिय बैंकद्वारा प्रदान गरिएको कार्डहरूमार्फत भुक्तानी प्राप्त गर्न सक्ने प्रणाली सुचारु गरेको हो।

अमेरिकाको बहुर्राष्ट्रिय कार्ड कम्पनी भीसाको प्रमुख लगानी रहेको साइबरसोर्स आईएनसीको गेटवे प्रणाली सो बैंकले नेपालमा पहिलोपटक ल्याएको हो। अमेरिका, चीन, भारत लगायत एशिया, युरोप र अफ्रिकाका विभिन्न देशहरूमा प्रयोग भइरहेको यो गेटवे प्रणाली आफ्नो उच्च सफलता दर र निर्वाध भुक्तानीका लागि विश्वजगतमा प्रतिष्ठित छ।

यस सुविधामार्फत ठूलो संख्यामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड प्रयोगकर्ताहरूसँग देशमा रहेका विभिन्न मर्चेन्टहरूले व्यवसायिक सम्बन्ध कायम गरी सोझै आफ्नो एन आई सी एशिया बैंक खातामा भुक्तानी प्राप्त गर्न सक्नेछन्।

यस सुविधाले विशेषगरि अनलाइन प्लेटफर्ममा आधारित इकमर्स, ट्राभल्स एण्ड टुर्स, हवाई उड्डयन, युटिलिटी सेवा प्रदायक, भुक्तानी सेवा प्रदायक, पर्यटन व्यवसायी, एडभेन्चर तथा मनोरञ्जन, हस्तकला लगायतका व्यवसायीहरूलाई भुक्तानी प्रणालीमा नयाँ आयाम थप्ने बैंकले विश्वास लिएको छ।

नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्कलाई टेवा पुर्याउदै बैंक आफ्नो डिजिटल फस्ट बैंक बन्ने दीर्घकालीन रणनीति अन्तर्गत विभिन्न डिजिटल प्रविधि र सेवा प्रदान गर्दै अग्रपंक्तीमा रहिआएको छ।

यस पेमेन्ट गेटवे प्रविधिमार्फत बैंकले आफ्ना मर्चेन्ट तथा सम्पूर्ण ग्राहकहरूलाई प्रदान गर्दै आएको डिजिटल सेवालाई थप प्रगाढ बनाएको छ। यस गेटवे प्रणालीबाट हालका लागि भीसा कार्डमार्फत कारोबार गर्न सकिने छ भने बैंकले निकट भविष्यमै मास्टरकार्ड, युनियन पे लगायतका कार्डमार्फत समेत कारोबार गर्न सकिने तयारी गरिरहेको छ।

डिजिटल फस्ट बैंक बन्ने आफ्नो दीर्घकालीन रणनीति अनुरूप ग्राहकहरूको संख्यामा विस्तार गर्ने लक्ष्यलाई मुर्तरूप दिँदै गत आर्थिक वर्षमा मात्रै ४ लाख ८४ हजार नयाँ ग्राहक संख्या थप्न सफल भइ कुल २२ लाख ग्राहकहरूमाझ यस बैंकले सेवा विस्तार गर्न सफल भएको छ। जुन वाणिज्य बैंकहरूले सो आर्थिक वर्षमा गरेको वृद्धिहरूमध्ये उच्चतम वृद्धि हो।

गत आर्थिक वर्षमा बैंकले डिजिटल बैंकिङतर्फ पनि उल्लेखनीय उपलब्धी हासिल गरेको छ। यस बैंकले आ. व. २०७६।७७ मा डेबिट कार्डमा २ लाख ३७ हजारले प्रयोगकर्तामा वृद्धि गरी वृद्धिमा भएको बजार हिस्साको करिब ३९ प्रतिशत सहित कुल ८ लाख ६६ हजार पुर्‍याउन सफल भएको छ।

साथै मोबाइल बैंकिङमा ३ लाख १४ हजारले वृद्धि गरी वृद्धिमा भएको बजार हिस्साको करिब १२ प्रतिशत सहित कुल १२ लाख १ हजार पुर्‍याउन सफल भएको छ। त्यसैगरी इन्टरनेट बैंकिङतर्फ १२ हजारको वृद्धि गरी वृद्धिमा भएको बजार हिस्साको करिब १४ प्रतिशत सहित कुल १ लाख १२ हजार प्रयोगकर्ताहरू पुर्‍याउन बैंक सफल भएको छ।

साथै बैंकले १५ हजार भन्दा बढी क्यूआर मर्चेन्ट र करिब ४ हजार पीओएस मर्चेन्टमार्फत आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: Aug 17, 2020| 06:45 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्